Below Menu
Below Menu

वैदैशिक रोजगारीमा जाने नेपाली घटे, एक वर्षमा विदेशिए सात लाख ४१ हजार 

वैदैशिक रोजगारीमा जाने नेपाली घटे, एक वर्षमा विदेशिए सात लाख ४१ हजार 

काठमाडौं : पछिल्लो समय रोजगारीको खोजिमा विदेशीने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या करिब ४ प्रतिशतले घटेको पाइएको हो ।

गत वर्ष कामको खोजीमा ७ लाख ४१ हजार २९७ नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब ३.८९ प्रतिशतले कम हो । अघिल्लो आवमा ७ लाख ७१ हजार ३२७ नेपाली कामदार विदेशिएका थिए ।

खासगरी वैदेशिक रोजगारीका लागि धेरै जसो नेपालीहरु मलेसिया लगायतका खाडी मुलकमा जाने गरेका थिए । तर, पछिल्लो समय मलेसियाले आप्रवासी श्रमिक लान बन्द गरेपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि घट्दै गएको पाइएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यान्स भने बढी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको थियो । 

तर, गत वर्षको जेठ मसान्तसम्म मात्रै रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । 

रोजगार विभागको तथ्याङ्क अनुसार असार मसान्तस्म्म श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिइ बाहिरिनेमा ६ लाख ६१ हजार १२५ जना पुरुष र ८० हजार ७२ जना महिला रहेका छन् । 

यस अवधिमा ४ लाख ६० हजार १०२ जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् । असार मसान्तसम्म ९ हजार ३८ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने ११ हजार ९०१ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

यस अवधिमा उच्च दक्ष जनशक्ति ७३२ जना विदेसिएका छन् भने प्रोफेसनल २ हजार ७७२ जना, अर्धदक्ष जनशक्ति ६० हजार १२३ जना विदेश गएका छन् । 

असार मसान्तसम्म वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति ५ लाख ३२ हजार १२३ जना अदक्ष जनशक्ति एक लाख ४५ हजार ५४७ जना विभिन्न मुलुक गएको विभागको तथ्याङ्कले देखाएको छ । 

विभागका अनुसार वैदेशिक रोजगारीका लागि गत वर्ष सबैभन्दा बढी नेपालीहरु युएई गएका छन् । कामको खोजीमा गत आवमा मात्रै एक लाख ९३ हजार ४३८ नेपाली युएई गएका हुन् । 

त्यस्तै यस अवधिमा साउदीमा एक लाख ४१ हजार ५०२ जना नेपाली रोजगारीका लागि गएका छन् भने कतारमा एक लाख ३४ हजार ६६९ जना गएको विभागको तथ्यांकमा उलेख छ ।  

त्यसैगरी कामको खोजीमा गत वर्ष मलेसियामा एक लाख ३ हजार ४४२ जना, कुवेतमा ४० हजार ३६८ जना, कोरियामा १३ हजार २६ जना, क्रोयसियामा २५ हजार ३६४ जना, रोमानियामा १५ हजार २१ जना र जापानमा १३ हजार ८६४ नेपाली रोजगारीका लागि विदेशिएका छन् । 

कुन महिनामा कति गए ?
साउन–५५ हजार ५७५
भदौ–५० हजार ८८४
असोज–५६ हजार २३५
कात्तिक–४३ हजार ६२२
मंसिर–६८ हजार २०१
पुस–६५ हजार ८१३
माघ–६२ हजार १४७
फागुन–६५ हजार ६५८
चैत–७० हजार ९३३
बैशाख– ७० हजार ६३७
जेठ– ७२ हजार ८६१
असार–५८ हजार ७३६

Advertisment

थप समाचार