Below Menu
Below Menu

मारुति सुजुकीले ल्यायो इथानोलबाट चल्ने ‘वागन आर’

मारुति सुजुकीले ल्यायो इथानोलबाट चल्ने ‘वागन आर’

एजेन्सी : मारुति सुजुकीले भारतमा आफ्नो पहिलो फ्लेक्स-फ्युल कार ‘वागन आर फ्लेक्स-फ्युल’ सार्वजनिक गरेको छ। उक्त कार जुन ४ अर्थात बुधबार औपचारिक रूपमा सार्वजनिक गरिएको हो। 

नयाँ मोडेललाई विशेष रूपमा इथेनोल मिश्रित पेट्रोल (इ८ सम्म, अर्थात् ८५ प्रतिशत इथानोल र १५ प्रतिशत पेट्रोल) मा चल्ने गरी डिजाइन गरिएको छ।

कम्पनीका अनुसार यो गाडी प्रारम्भिक चरणमा सामान्य उपभोक्ताका लागि नभई विशेष रूपमा ओला, उबर जस्ता फ्लीट अपरेटरहरू तथा क्याब एग्रीगेटर कम्पनीहरूका लागि मात्र उपलब्ध गराइनेछ। 

वागन आर फ्लेक्स–फ्युलको बाह्य डिजाइनमा कुनै ठूलो परिवर्तन गरिएको छैन। तर यसलाई उच्च इथानोल मिश्रित इन्धनमा सहज रूपमा चलाउन सक्ने बनाउन इन्जिन र इन्धन प्रणालीमा महत्वपूर्ण प्राविधिक सुधारहरू गरिएको कम्पनीले जनाएको छ। जसका कारण यसको मूल्य सामान्य पेट्रोल वा सीएनजी संस्करणको तुलनामा केही बढी हुन सक्ने अनुमान गरिएको छ । यद्यपि आधिकारिक मूल्य भने सार्वजनिक गरिएको छैन।

भारतका केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले यस अवसरमा सरकारको दीर्घकालीन योजना पनि साझा गरेका छन्। उनले सन् २०२७ को अन्त्यसम्म देशभर करिब ५,००० इथेनोल वितरण स्टेशन स्थापना गर्ने लक्ष्य रहेको बताएका छन्। 

प्रारम्भिक चरणमा दिल्ली-एनसीआर र मुम्बई-पुणे-नागपुर करिडोरलाई प्राथमिकता दिइनेछ, जहाँ ५० देखि १०० स्टेशन सञ्चालनमा ल्याइने योजना छ। यस वर्षको डिसेम्बरसम्ममा यस्तो स्टेशनहरूको संख्या करिब ५०० पुर्याइने पनि उनले जानकारी दिए।

मन्त्री पुरीले इथेनोल मिश्रित इन्धन पारम्परिक पेट्रोलभन्दा सस्तो हुने अपेक्षा गरिएको उल्लेख गर्दै यसले उपभोक्ताको खर्च घटाउनुका साथै भारतको ऊर्जा आयातमा निर्भरता पनि कम गर्न मद्दत गर्ने बताए।

यो मोडेल यसअघि भारत मोबिलिटी शो २०२२ र २०२४ मा प्रोटोटाइप रूपमा प्रदर्शन गरिएको थियो। तर अहिले सार्वजनिक गरिएको संस्करण उत्पादनका लागि तयार (production-ready) मोडेल हो।

Advertisment

थप समाचार