Below Menu
Below Menu

पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नियन्त्रणमा

पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नियन्त्रणमा

काठमाडौं : अध्यागमन विभागले पर्यटक भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

विभागका अनुसार उनीहरूले नेपालमा पर्यटक भिसामा बसोबास गर्दै अवैध रूपमा व्यावसायिक गतिविधि सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार प्राप्त उजुरी र अनुसन्धानका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानमा उनीहरूले सामाजिक सञ्जाल टिकटकमार्फत प्रचारप्रसार गर्दै विभिन्न खाद्य सामग्रीको बिक्री–वितरण गर्ने कार्य गरिरहेको पाइएको बताइएको छ।

विभागका अनुसार नियन्त्रणमा लिइएका दुवै जना पुरुष हुन्। उनीहरूले हिमाली क्षेत्रमा उत्पादन हुने स्याउ, ओखर, लसुन, किसमिसलगायतका खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै प्रचार गरे पनि व्यवहारमा बजार मूल्यभन्दा महँगो दरमा बिक्री गरेको आरोप लागेको छ।

प्रारम्भिक अनुसन्धानले ती नागरिकहरूले करिब दुई वर्षअघि विदेशी लगानी भित्र्याउने उद्देश्यसहित “LIU JUN Hotel with Restaurant” स्थापना गर्न व्यवसायिक भिसा लिएको देखाएको छ। तर प्रतिबद्धता अनुसार लगानी नआएको र हाल उनीहरू पर्यटक भिसामा बसेर गतिविधि सञ्चालन गरिरहेको पाइएको विभागले जनाएको छ।

त्यसैगरी, उनीहरू सन् २०२४ मा चीनस्थित Tibet Huida International Trade तथा Xizang Shang Cheng Health Industries नामक संस्थामा बजार विश्लेषकको रूपमा नेपाल प्रवेश गरेको अभिलेख पनि फेला परेको बताइएको छ।

नेपालमा रहँदा उनीहरूले नेपाली नागरिकको नाममा “Nepal Zangni Trading and Investment” नामक कम्पनी दर्ता गरी चिनियाँ कृषि फार्मको नाममा व्यापारिक गतिविधि सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त कम्पनीमार्फत टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गरी प्रचार–प्रसार गर्दै व्यवसाय विस्तार गर्ने प्रयास गरिएको पनि विभागको भनाइ छ।

अध्यागमन विभागले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। विभागका अनुसार नेपालमा विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएका हुन्छन्, त्यस बाहेक अन्य कुनै पनि व्यावसायिक वा गैरकानूनी गतिविधि गर्न पाइँदैन।

भिसाको शर्त उल्लंघन भएको प्रमाणित भएमा प्रचलित अध्यागमन कानुनअनुसार जरिवाना, देश निकाला तथा निश्चित वा अनिश्चित अवधिसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।

Advertisment

थप समाचार