काठमाडौं : पछिल्लो समय विभिन्न प्रयोजनका लागि विदेशिने नेपालीको संख्या बढ्दे रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक हेर्ने हो भने एक वर्षमा १६ लाख भन्दा धेरै नेपाली बिदेसिएका छन् ।
विभागका अनुसार पहिले वैदेशिक रोजगारीमा मात्र नेपालीहरु विदेशिने गर्थे भने अहिले परिस्थिति झन् सकसपूर्ण देखिन्छ । नेपालीहरु वैदेशिक रोजगारीका लागि मात्र नभई बसाईसराई नै गर्न थालेको तथ्यांकले देखाएको छ ।
वैदेशिक रोजगारी सहित विभिन्न प्रयोजनका लागि सन् २०२३ को १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका हुन् । जसमा महिलाको सङ्ख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको सङ्ख्या ११ लाख ७१ हजार १८६ जना रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा स्थायी र अस्थायी रुपमा बसोबासका लागि १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । जसमा ७० हजार ९१५ जना स्थायी बसोबासका लागि र ९२ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेशिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् ।
त्यस्तै, वैदेशिक अध्ययनका लागि यस अवधिमा १ लाख ८ हजार ५४२ जना विदेशिएका छन् । जसमा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेको विभागको भनाइ छ । घुम्नका लागि २ लाख ४ हजार ५१८ जना, रोजगारीका लागि ८ लाख ८ हजार ४१५ जना विदेशिएका छन् ।
त्यसैगरी यस अवधिमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेसिएका छन् । जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् भने पारिवारिक प्रयोजनका लागि ७० हजार ८०८ पुरुष र ९६ हजार ६७३ जना महिला गरी १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन्
यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् ।
यसैगरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै बिदेसिएको तथ्याङ्कमा उल्लेख छ ।
कुन देशमा कति गए ?
विभागका अनुसार सन् २०२३ मा त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) मा गएका छन् । यस अवधिमा २ लाख ७१ हजार ०८८ जना गएका हुन् । त्यस्तै भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना विदेसिएको तथ्यांकमा उल्लेख छ ।
यस्तै यस अवधिमा अस्ट्रेलियामा १ लाख ५ हजार ३४३ जना नेपाली गएका छन् भने जापानमा ८२ हजार ७७२, अमेरिकामा ६७ हजार ८१०, बेलायतमा ५३ हजार ४०१ र कुवेतमा ४८ हजार। १०३ नेपाली गएका छन् ।
वैदेशिक रोजगारी लगायत विभिन्न प्रयोजनका लागि यस अवधिमा साउथ कोरिया, थाइल्याण्ड, चीन, क्यानडा, ओमान, बंगलादेश, सिंगापुर, जर्मनी, डेकमार्क पोल्याण्ड, नर्वे, जोर्डन, ब्राजिल, इटाली लगायतका थुप्रै देशहरुमा नेपालीहश्र गएका छन् ।
Advertisment