काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई दिइने साधारण शेयर (आईपीओ) अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आग्रह गरेको छ ।
केही जलविद्युत आयोजनाहरूको आईपीओ निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि रोकिँदा कतिपय प्रवद्र्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयमा इप्पानले आपत्ति जनाएको हो।
इप्पानले एक विज्ञप्ति जारी गर्दै धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ अनुसार स्थानीय प्रभावित बासिन्दालाई १० प्रतिशत शेयर उपलब्ध गरिएकाले सोही व्यवस्थाअनुसार अघि बढ्न आफ्ना सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ।
जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि हो । आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव सहने, निर्माण अवधिका असुविधा व्यहोर्ने र आयोजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई आयोजना स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयबासीका लागि शेयरको व्यवस्था गरिएको हो
तर, स्थानीयका लागि छुट्याइएको शेयर नै प्रिमियम मूल्यमा निष्काशन गरिएमा समुदायको पहुँच सीमित हुने र आयोजनाप्रतिको अपनत्व कमजोर बन्न सक्ने इप्पानको भनाइ छ। यसले आयोजना र स्थानीय समुदायबीच वर्षौंदेखि निर्माण भएको विश्वासको सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्ने इप्पानको ठहर छ ।
इप्पानले स्थानीय प्रभावित बासिन्दालाई अंकित मूल्यमा शेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने विश्वास व्यक्त गरेको छ। यसबाट स्थानीय स्तरमा आयोजनाप्रतिको स्वामित्व र अपनत्व बढ्ने, निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध कम हुने तथा आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने इप्पानको तर्क छ ।
जलविद्युत आयोजनाबाट स्थानीय समुदायले दीर्घकालीन आर्थिक लाभ लिन सक्ने अवसर सुनिश्चित गर्न पनि अंकित मूल्यमा सेयर वितरण आवश्यक रहेको इप्पानको भनाइ छ। यस्तो व्यवस्थाले स्थानीय आर्थिक सशक्तीकरण, क्षेत्रीय विकास र सामाजिक सद्भावलाई समेत सहयोग पुर्याउने इप्पानको भनाई छ ।
इप्पानले नेपाल सरकार, सम्बन्धित नियामक निकाय तथा सबै प्रवद्र्धक कम्पनीहरूलाई स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई सर्वोपरि राख्दै स्थानीयबासीका लागि छुट्याइने शेयर अंकित मूल्य अर्थात् प्रति कित्ता रु. १०० मै उपलब्ध गराउने नीतिलाई निरन्तर कायम राख्न सदस्यहरुलाई आग्रह गरेको छ ।
त्यसैगरी, जलविद्युत आयोजनाको साधारण शेयर निष्काशनसँग सम्बन्धित नियामकीय प्रक्रिया सरल, पारदर्शी र समयमै सम्पन्न हुने व्यवस्था गर्न पनि इप्पानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। आईपीओ निष्काशनमा भइरहेको ढिलाइका कारण आयोजना प्रवद्र्धकहरूले आर्थिक तथा व्यवस्थापकीय समस्या भोगिरहेको भन्दै समयमै सेयर निष्काशन गर्ने प्रणाली विकास गर्न सरकारसँग आग्रह गरेको छ ।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले स्थापना कालदेखि नै जलविद्युत तथा नवीकरणीय ऊर्जा विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, विद्युत व्यापार विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत पैरवी गर्दै आएको छ।
नेपालको कुल विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै इप्पानले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार, नियामक निकाय, स्थानीय तह र अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको जनाएको छ।