भक्तपुर : उद्यमशीलता र पारदर्शिता स् सहकारीको प्राथमिकता तथा दिगो सहकारी विकासका लागि संघ भन्ने मूल नाराका साथ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ‘वार्षिक समीक्षा तथा चार वर्षे व्यावसायिक योजना गोष्ठी २०८३’ सूर्यविनायकस्थित क्लब बागमतीमा सम्पन्न भएको छ।
कार्यक्रममा संघका उपाध्यक्ष जगनाथ प्रजापतिले स्वागत मन्तव्य दिँदै सहकारी क्षेत्रमा हाल बढ्दै गएको वासलात र ऋण लगानी घट्दै गएको अवस्थामा यसलाई पुनः सुदृृढ र मजबुत बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
संघका सञ्चालक सदस्य राजकुमार लघुले गत आर्थिक वर्षको ३ अर्ब ६ करोड ९४ लाख २५ हजार रुपैयाँको वासलातसहितको आर्थिक समीक्षा प्रस्तुत गरेका थिए । संघका सचिव कान्छाभक्त घजुले आव २०८२/८३ को कार्यक्रमको समीक्षा प्रस्तुती गरेका थिए ।
कार्यक्रमको सभापतित्व गर्दै संघका अध्यक्ष हरिकृष्ण बल्लले संघले आफ्ना सदस्य संस्थाहरूको हितलाई सर्वोपरि राखेर आगामी चार वर्षको व्यावसायिक योजना बनाएको बताए । उपसमितिका संयोजकहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको सम्बोधन गर्दै अध्यक्ष बल्लले भने ।
सुरुआती दिनहरूमा प्रारम्भिक सहकारी संस्थाहरूले नै संघको जन्म गराएको अनुभूति हुन्थ्यो । तर अब संघले अभिभावकीय भूमिका निर्वाह गर्दै प्रारम्भिक संस्थाहरूको काँध थापेर अगाडि बढ्नुपर्ने बेला आएको छ ।
संघका सहायक रोकेश जोशीले सञ्चालन गरेको उक्त गोष्ठीमा संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले आव २०७९/८०(आव २०८२/८३ चार वर्षे व्यावसायिक योजनाको समीक्षा प्रस्तुत गरेका थिए । साथै आगामी ४ वर्षको लागि चार वर्षीय रणनीतिक योजना तथा आव २०८३/८४ को लागि तय गरिएको बजेट तथा कार्यक्रम प्रस्तुती संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजूले गरे ।
उनले भने, ‘संशोधित सहकारी ऐन २०८३ ले संघको तीव्र गतिमा बढेको वित्तीय क्षेत्रलाई अन्योलमा धकेलेको अवस्थामा, यस्ता चुनौतीहरूलाई अवसरमा परिणत गर्दै अगाडि बढ्नुपर्छ।’
समीक्षा कार्यक्रममा संघको महिला सशक्तिकरण उपसमितिको आयोजनामा २०८३ असार २७ गते सम्पन्न महिला सशक्तीकरणमा सहकारीको भूमिका विषयक निबन्ध प्रतियोगिताका विजेताहरूलाइ पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। उक्त प्रतियोगितामा १३ जनाले सहभागी जनाएको थियो ।
प्रतियोगितामा प्रथम स्थान सिमल बचत तथा ऋण सहकारी संस्थाका ग्लोबल एकेडेमीमा कक्षा ९ अध्ययनरत साहिल सुवाल, द्वितीय स्थानमा शिक्षा विकास बचत तथा ऋण सहकारी संस्थाका विनायक शिक्षा निकेतनमा कक्षा ९ मा अध्ययरत तुलज प्रजापति र तृतीय स्थानमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि।का ख्वप्रिंग इंग्लिस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत राजश्री कुसी हासिल गरेको थियो । विजयी छात्रछात्राहरूलाई कार्यक्रमका अतिथि तथा संघका पदाधिकारीहरूद्वारा पुरस्कार प्रदान गरिएको थियो ।