पोखराको मणिपाल अस्पतालले नौ महिनामा गर्यो पौने दुई अर्बको व्यापार, नाफा मार्जिनमा दबाब

पोखराको मणिपाल अस्पतालले नौ महिनामा गर्यो पौने दुई अर्बको व्यापार, नाफा मार्जिनमा दबाब

काठमाडौं : नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालिले गत आर्थिक वर्षको नौ महिनामा एक अर्ब ८९ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। उक्त रकम वार्षिक कारोबारको आधारमा ११ प्रतिशतले बढी हो। 

कम्पनीले सन् २०२५ मा दुई अर्ब २७ करोड रुपैयाँको कारोबार गरेको थियो । जुन सन् २०२४ को एक अर्ब ८८ करोड ९० लाख रुपैयाँको तुलनामा करिब २० प्रतिशतले बढी हो। 

त्यसअघि सन् २०२३ मा कम्पनीको कारोबार एक अर्ब ५० करोड ८० लाख रुपैयाँ तथा सन् २०२२ मा एक अर्ब नौ करोड ९० लाख रुपैयाँ रहेको थियो। पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार निरन्तर रुपमा बढेको छ ।

विशेषगरी विभिन्न चिकित्सा शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीको आकर्षण बढ्नुका साथै अस्पतालको राजस्व पनि क्रमिक रूपमा बढ्दै गएको कम्पनीले जनाएको छ। यससँगै एमबीबीएस अध्ययनका लागि उपलब्ध सिट संख्या १०० बाट बढाएर १२० पुर्याइएको छ।

कम्पनीको आम्दानीमा सुधार देखिए पनि कर्मचारी खर्च बढेका कारण सञ्चालन नाफा मार्जिन भने घटेको छ। सन् २०२५ मा २९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन भने गत आवको नौ महिनामा आइपुग्दा २४ प्रतिशतमा सीमित भएको छ। 

गत आवको नौ महिनामा कम्पनीको ऋण सेवा क्षमता ३.२ गुणा पुगेको छ भने कुल ऋणको अनुपात पनि अघिल्लो अवधिको तुलनामा सुधारिएको छ।  

नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालिको स्थापना सन् १९९४ मा पोखरामा भएको हो। कम्पनीले काठमाडौं विश्वविद्यालयअन्तर्गत एमबीबीएस, बीएससी नर्सिङलगायत विभिन्न मेडिकल तथा हेल्थ साइन्स कार्यक्रम सञ्चालन गर्नुका साथै ५०० शय्याको अस्पतालमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। 

सुरुआतमा भारतीय मणिपाल ग्लोबल एजुकेसन सर्भिसेजको स्वामित्वमा रहेको कम्पनी सन् २०२१ मा नेपाली कम्पनी बापो होल्डिङ्समा हस्तान्तरण भएको थियो। त्यसपछि सन् २०२३ मा बापो होल्डिङ्स नेपाल मणिपालमा मर्ज भएको थियो। हाल कम्पनीमा अटोवेज ग्रुपको करिब ८३ प्रतिशत र बतास ग्रुपको करिब १७ प्रतिशत स्वामित्व रहेको छ।

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कुल दुई अर्ब ५० करोड रुपैयाँ बराबरको क्रेडिट रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि एक अर्ब ९४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गरिएको छ।

थप समाचार