काठमाडौं : काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर मार्केट सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहका क्रममा भाटभटेनीका अन्य स्टोरसहित टंगालस्थित स्टोर पनि आगजनीमा परेको थियो । सो घटनाको १ वर्षपछि उक्त भाटभटेनी स्टोर पुनः सञ्चालनमा आएको छ ।
योसँगै उपत्यका र उपत्यका बाहिरका १० वटा ध्वस्त भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा आएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
जेन-जी विद्रोहका क्रममा भाटभटेनी सुपर मार्केटका १२ वटा स्टोर स्टोर ध्वस्त भएका थिए । काठमाडौंस्थित महाराजगञ्ज स्टोर, कोटेश्वर र बौद्ध स्टोर, चुच्चेपाटीस्थित स्टोर आन्दोलनकै क्रममा तोडफोड र आगजनीले पूर्ण रूपमा ध्वस्त पारिएका थिए । सँगै टंगालस्थित गोदामसमेत जेन-जी आन्दोलनकारीकै क्रममा आगजनी गरिए ।
काठमाडौं उपत्यकाभित्रका पाँचवटा स्टोरसहित उपत्यकाबाहिरका मुख्यमुख्य शहरमा सञ्चालित सातवटा भाटभटेनी सुपर स्टोरमा आन्दोलनकै क्रममा तोडफोड, लुटपाट र आगजनी भएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलको भनाइ छ ।
१२ वटा क्षतिग्रस्त भाटभटेनी स्टोरहरूमध्ये अब हेटौँडा र दमक स्टोर मात्र सञ्चालनमा आउन बाँकी रहेको पौडेलले शिलापत्रसँग बताए । यी दुई स्टोर पनि जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी कम्पनीले तयारी गरिरहेको उनले बताए ।