साहस उर्जाको नाफा ५१ प्रतिशतले बढ्यो, एक वर्षमा बेच्यो पौने तीन अर्बको बिजुली 

साहस उर्जाको नाफा ५१ प्रतिशतले बढ्यो, एक वर्षमा बेच्यो पौने तीन अर्बको बिजुली 

काठमाडौं : साहस उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक अर्ब ३५ करोड ९१ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष हाइड्रोपावरले ८९ करोड ५१ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफामा सुधार देखिएको हो । साथै कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफामा सुधार  आएको हो । 

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.४२ प्रतिशतले बढेर दुई अर्ब ८४ करोड ४५ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी दुई अर्ब ६४ करोड ८१ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको असार मसान्तसम्म ८० करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ । 

असार मसान्तसम्म चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा तीन अर्ब ६८ करोड तीन लाख रुपैयाँ सञ्चित छ । अघिल्लो वर्षको तुलनामा रिजर्भको आकार १६.३९ प्रतिशतले बढेको छ । 

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १८० रुपैयाँ ५८ पैसा रहेको भने मूल्य आम्दानी अनुपात २१.४० गुणा रहेको छ ।

हाल कम्पनीले सोलुखुम्बु जिल्लामा रहेको ८६ मेगावाट क्षमताको सोलु खोला ९दूधकोशी० जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ।

यस्तै, कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेड मार्फत ३४१ मेगावाट क्षमताको ‘बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना’ अघि बढाइरहेको छ। आयोजना निर्माणका लागि कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ।

थप समाचार