काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताएका छन्।
मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी महाधिवेशन राप्रपाको जीवनमा एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने बताए।
पार्टीको आगामी महाधिवेशनलाई औपचारिकतामा मात्र सीमित नराखी पार्टीको टर्निङ पोइन्ट बनाउनुपर्ने उनको भनाई छ ।
उनले भने, ‘यो महाधिवेशन एउटा प्रक्रिया पूरा गर्ने मात्र होइन। हरेक चार वर्ष, पाँच वर्षमा हामीले एउटा नयाँ नेतृत्व चुन्नुपर्ने, महाधिवेशन गर्नैपर्ने हाम्रो वैधानिक बाध्यता र त्यसकारण त्यो बाध्यता हामीले पूरा गरिराखेका छौँ, त्यो औपचारिकता पूरा गरिराखेका छौँ मात्र होइन। आउने महाधिवेशन राप्रपाको जीवनको एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने छ हामीले । कतिपय सन्दर्भमा कुराहरू हुँदाखेरि हामीले कुनै पनि विषयलाई जोड दिएर भन्यौँ भने ‘कि ग¥यो कि म¥यो’ भनेर भन्छ। हामीलाई मर्ने सुविधै छैन। त्यसकारणले ग¥यो ग¥यो, राप्रपा अगाडि बढ्यो बढ्यो भन्ने हिसाबले हामीले आफ्नो काम गर्नुपर्ने छ। आउने महाधिवेशन नै हाम्रो पार्टीको जीवनको एउटा टर्निङ पोइन्ट हुनेछ, एउटा त्यस्तो क्षण हुनेछ कि जसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जुरुक्कै उठाउने छ।’
उनले पार्टीमा नयाँ सदस्यलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। अहिले पार्टीमा रहेका सदस्यहरू मात्रै मिलेर राप्रपालाई अपेक्षित रूपमा विस्तार गर्न नसकिने भन्दै उनले लाखौँ नयाँ मानिसका लागि पार्टीमा प्रवेश गर्ने ढोका खोल्नुपर्ने बताए।
‘हामी अहिले जति मान्छे छौँ त्यति मान्छे मिलेर मात्रै राप्रपा पुग्दैन। हामीले अरू मान्छे नबढाउने, आममान्छेको पार्टीको रूपमा राप्रपालाई विकसित नगर्ने तर हामी चाहिँ अँगालो मारेर बस्यौँ भने यो पार्टी ठूलो हुन्छरु’ उनले प्रश्न गरे।
लिङ्देनले विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू स्वतःस्फूर्त रूपमा राप्रपामा प्रवेश गरिरहेको दाबी गरे। नेकपा एमालेबाट रामकोट गाविसको अध्यक्षमा दुईपटक निर्वाचित मोहन गिरीलगायतका व्यक्तिहरू राप्रपामा आएको उल्लेख गर्दै उनले उनीहरूको प्रवेशले पार्टीलाई थप उत्साहित बनाएको बताए।
उनले बाँकेबाट एमालेको जिल्ला कमिटीमा रहिसकेकी रचना पनि राप्रपामा प्रवेश गरेको उल्लेख गरे। अन्य स्थानबाट पनि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गर्ने तयारीमा रहेको उनको भनाइ थियो।
अध्यक्ष लिङ्देनले नेपालको राजनीति अनिश्चितताको अवस्थामा रहेको टिप्पणी गर्दै देशलाई निकास र दिशा दिने शक्ति राप्रपा बन्नुपर्ने बताए। आगामी चुनौती सामना गर्न र देशको नेतृत्व गर्न सक्ने पार्टीका रूपमा राप्रपालाई तयार पार्नु सबै नेता तथा कार्यकर्ताको जिम्मेवारी भएको उनले बताए।