एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता सम्पन्न भए अमेरिकाले तय गरेको सैन्य आक्रमण स्थगित गर्ने बताएका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरान तथा मध्यपूर्वका अन्य केही मुलुकले आक्रमण रोक्न आग्रह गरेको र सम्भावित सम्झौताका आधारभूत विषयमा सहमति जुटिसकेको दाबी गरेका हुन्।
ट्रम्पको यो अभिव्यक्ति अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै अहिलेसम्मकै कडा बमबारीको तयारी गरिरहेको भन्ने अमेरिकी सञ्चारमाध्यमका समाचार सार्वजनिक भएको केही समयपछि आएको हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा सम्भावित सैन्य कारबाहीबारे समेत छलफल भएको थियो।
यद्यपि इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ। इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीले तेहरानले अमेरिका समक्ष कुनै पनि सैन्य आक्रमण रोक्न आग्रह नगरेको स्पष्ट पार्दै ट्रम्पको भनाइलाई नयाँ झूट को संज्ञा दिएको छ।
इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रेजाले आफ्ना विरोधीबाट आउने प्रत्येक धम्कीलाई इरानले वास्तविक र विश्वसनीय रूपमा लिने बताएका छन्। उनका अनुसार केही धम्की मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यका भए पनि इरान कुनै पनि परिस्थितिमा न त असावधान बन्नेछ, न त निष्क्रिय रहनेछ।
शनिबार ट्रुथ सोसलमा ट्रम्पले अमेरिका इरानविरुद्ध दोस्रो विश्वयुद्धयताकै सबैभन्दा शक्तिशाली सैन्य कारबाही गर्न पूर्ण रूपमा तयार रहेको दाबी गर्दै सम्झौताको सम्भावनालाई ध्यानमा राखेर तत्कालका लागि आक्रमण स्थगित गरिएको बताएका छन्। उनले यस्तो निर्णय विश्वको हित र समृद्ध इरानको भविष्यका लागि गरिएको उल्लेख गरेका छन्।
यसअघि गत अप्रिल ७ मा पनि ट्रम्पले इरानले शान्ति वार्तामा सहभागी नभए ूआज राति नै एउटा सम्पूर्ण सभ्यता समाप्त हुन सक्छू भन्दै चेतावनी दिएका थिए। उनले नागरिक पूर्वाधार र विद्युत् संरचनामाथि आक्रमण गर्न सकिने संकेत दिएका थिए, जसलाई धेरैले सम्भावित युद्ध अपराधको चेतावनीका रूपमा व्याख्या गरेका थिए।
त्यसपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा पाकिस्तानमा अमेरिका र इरानबीच ऐतिहासिक प्रत्यक्ष वार्ता भएको थियो। ट्रम्प समर्थकहरूले कडा चेतावनीकै कारण वार्ता सम्भव भएको दाबी गरे पनि अन्ततः दुवै पक्षका असहमतिका कारण कुनै ठोस सम्झौता हुन सकेन।
सीबीएस न्युजका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले पत्रकारहरू उपस्थित रहेकै बेला ‘हामी उनीहरूलाई निकै कडा प्रहार गर्नेछौं। अन्ततः उनीहरूले अब सहन सक्दैनौं भन्ने अवस्था आउनेछ,’ भनेका थिए।
यसैबीच, शनिबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै क्षेत्रीय तनाव कम गर्न संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार युवराजले युद्धविराम र कूटनीतिक समाधानका लागि सबै सम्भव प्रयास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
अमेरिकाका खाडी क्षेत्रका साझेदार मुलुकहरू पनि सम्भावित द्वन्द्व विस्तारप्रति चिन्तित छन्। अमेरिकी मुख्य भूमि इरानी मिसाइलको प्रत्यक्ष पहुँचबाहिर रहे पनि बहराइन, जोर्डन र संयुक्त अरब इमिरेट्सजस्ता मुलुकहरू जोखिममा रहेको उनीहरूको बुझाइ छ। विशेष गरी पानी प्रशोधन केन्द्रजस्ता महत्वपूर्ण पूर्वाधार सम्भावित निशानामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
अप्रिलमा भएको युद्धविराम जुन महिनामा भंग भएपछि अमेरिका र इरानबीच आक्रमण तथा प्रत्याक्रमणको श्रृङ्खला जारी छ। अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्नुका साथै विभिन्न सैन्य र रणनीतिक स्थलमा आक्रमण गरेको छ भने इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गर्दै मिसाइल र ड्रोन प्रहार गरेको तथा विश्व तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने जहाजहरूलाई समेत निशाना बनाएको छ। यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ।
युद्धप्रति अमेरिकाभित्र पनि असन्तुष्टि बढ्दै गएको छ। प्यु रिसर्च सेन्टरका अनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिक इरानसँगको युद्धको विपक्षमा छन्, जसले ट्रम्पको लोकप्रियतामा समेत असर पारेको छ।
आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा कुनै पनि सैन्य तनावले तेलको मूल्य अझ बढ्ने, अमेरिकी उपभोक्तामाथि आर्थिक भार थपिने र त्यसको राजनीतिक असर ट्रम्प प्रशासनले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।