Below Menu

शंकर ग्रुपको जगदम्बा मोबाइल्सको व्यापार निरन्तर ओरालो, एक वर्षमा बेच्यो साढे एक अर्बको मोबाइल 

शंकर ग्रुपको जगदम्बा मोबाइल्सको व्यापार निरन्तर ओरालो, एक वर्षमा बेच्यो साढे एक अर्बको मोबाइल 

काठमाडौं : शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोबाइल्स प्राइभेट लिमिटेडको व्यापार निरन्तर खुम्चिदै गएको छ । सन् २०२६ कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले एक अर्ब ६५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

Sponsored Advertisement

उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ८ प्रतिशत कम हो । कम्पनीले सन् २०२५ मा एक अर्ब ७९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि कम्पनीले सन् २०२४ मा २ अर्ब ६ करोड ४० लाख, सन् २०२३ मा २ अर्ब ७६ करोड २० लाख र सन् २०२२ मा तीन अर्ब २४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । 

विशेषगरी स्मार्टफोन तथा सहायक सामग्रीको आयात स्रोत भारतबाट चीनमा स्थानान्तरण हुनु र सफारी लगेजको माग कमजोर हुँदा आम्दानी घटेको रिपोर्टमा उल्लेख छ । साथै आयात स्रोत परिवर्तन हुँदा ढुवानी तथा व्यवस्थापनसम्बन्धी आवश्यकता बढेको र सञ्चालन लागतमा दबाब परेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले रियलमी मोबाइल टेलिकम्युनिकेसन (चीन) बाट स्मार्टफोन तथा सहायक सामग्री आयात गर्न थालेपछि खर्चको संरचनामा परिवर्तन आएको छ । यससँगै विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढावको जोखिम समेत बढेको छ ।

तथापी कम्पनीको आम्दानी घटे पनि सञ्चालन नाफा मार्जिनमा भने सुधार देखिएको छ । सन् २०२५ मा नकारात्मक रहेको कम्पनीको यस्तो नाफा मार्जिन सन् २०२६ मा १.८० प्रतिशत पुगेको छ ।

रियलमीसँग सम्बन्धित केही ब्रान्ड खर्च कम्पनीले फिर्ता प्राप्त गरेपछि बिक्री तथा वितरण खर्च घटेको र यसले सञ्चालन नाफामा सुधार ल्याएको रिपोर्टमा उल्लेख छ । यसका कारण कम्पनीको खुद नाफा मार्जिन पनि नकारात्मक अवस्थाबाट सुधार भएर करिब १ प्रतिशत पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल नगद सञ्चिति सन् २०२५ मा नकारात्मक रहेकामा आर्थिक वर्ष २०२६ मा एक करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको ब्याज भुक्तानी क्षमतामा पनि सुधार आएको छ । सन् २०२५ मा नकारात्मक रहेको ब्याज भुक्तानी अनुपात यस अवधिमा १.२८ गुणा पुगेको छ । 

यसैगरी कम्पनीको ऋण सेवा कभरेज अनुपात (डीएससीआर) पनि अघिल्लो वर्षको ०.३९ गुणाबाट बढेर १.४० गुणा पुगेको छ । यद्यपी कम्पनीको ऋणको भार बढ्दा पुँजी संरचनामा दबाब परेको छ । सन् २०२५ मा १.६० गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२६ मा २.८४ गुणा पुगेको छ । त्यस्तै, कुल दायित्व र कुल नेटवर्थको अनुपात पनि अघिल्लो आर्थिक वर्षको १.८७ गुणाबाट बढेर ३.५१ गुणा पुगेको छ ।

वित्तीय चुनौतीका बीच कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्ने प्रयास गरेको छ । कम्पनीले सन् २०२६ को जुलाईदेखि चीनको जेडटीई कर्पोरेसनबाट स्रोत गरिएका जेडटीई स्मार्टफोनको गैर-विशेष आधिकारिक वितरकका रूपमा काम सुरु गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघि उक्त ब्रान्डको बिक्री कम्पनीको भगिनी संस्थामार्फत हुँदै आएको थियो । 

कम्पनी रियलमी स्मार्टफोन तथा सहायक सामग्रीको नेपालका दुई आधिकारिक वितरकमध्ये एक हो । प्रतिवेदनअनुसार सन् २०२६ अगस्टसम्म नेपाली स्मार्टफोन बजारमा रियलमीको हिस्सा करिब ६ प्रतिशत रहेको छ ।

कम्पनीको वितरण सञ्जाल पनि विस्तार भएको छ । सन् २०२५ मा ६५ वटा डिलर रहेकोमा सन् २०२६ मा डिलर संख्या बढेर ३२६ पुगेको छ । रियलमी र जेडटीईबाहेक कम्पनीले सफारी लगेज तथा बौल्ट अडियो उपकरणको कारोबारसमेत गर्दै आएको छ ।  

सन् २०११ जुलाई ७ मा स्थापना भएको जगदम्बा मोबाइल्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो ।  कम्पनीमा सुलभ अग्रवालको शतप्रतिशत शेयर स्वामित्व रहेको छ । 

कम्पनीले अल्पकालीन बैंक कर्जा सुविधाका लागि ७५ करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । यसअघि कम्पनीको अल्पकालीन बैंक सुविधा ९० करोड रुपैयाँ रहेकामा घटाएर ७५ करोड रुपैयाँ कायम गरिएको हो ।