मेवा डेभलपर्सका दुई आयोजनाको लागत १० प्रतिशतले बढ्यो, प्रतिमेगावाट लागत करिब २६ करोड

मेवा डेभलपर्सका दुई आयोजनाको लागत १० प्रतिशतले बढ्यो, प्रतिमेगावाट लागत करिब २६ करोड

काठमाडौं : मेवा डेभलपर्स लिमिटेडले निर्माण गरिरहेका दुई जलविद्युत् आयोजनाको अनुमानित लागत करिब १० प्रतिशतले बढेको छ। 

कम्पनीले ताप्लेजुङको मिक्खुवा खोला गाउँपालिकामा निर्माण गरिरहेको ७३.५ मेगावाट क्षमताको मिडल मेवा जलविद्युत् आयोजना र ९.३ मेगावाटको सिवा खोला जलविद्युत् आयोजनाको कुल लागत अब २१ अर्ब ४१ करोड ९० लाख रुपैयाँ पुगेको छ।

कम्पनीका अनुसार यी दुई आयोजनाको संयुक्त जडित क्षमता ८२.८ मेगावाट रहेको छ। यसअघि दुवै आयोजनाको लागत १९ अर्ब ५० करोड ९० लाख रुपैयाँ अनुमान गरिएको थियो । जुन अहिले बढेर प्रतिमेगावाट करिब २५ करोड ९० लाख रुपैयाँ पुगेको हो।

खासगरी सिभिल निर्माण, हाइड्रो-मेकानिकल उपकरण, पूर्वाधार विकास तथा ढुवानी खर्च बढेका कारण लागत वृद्धि भएको कम्पनीले जनाएको छ। साथै, निर्माण अवधि लम्बिँदा निर्माण अवधिको ब्याज र परियोजना व्यवस्थापन खर्च पनि बढेकाले लागतमा उल्लेख्य वृद्धि भएको कम्पनीको भनाइ छ।

मेवा डेभलपर्सका अनुसार ७३.५ मेगावाटको मिडल मेवा आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। तर, ९.३ मेगावाटको सिवा खोला आयोजनाको प्रगति अपेक्षाअनुसार हुन नसकेकाले समग्र परियोजनाको समयतालिकामा दबाब परेको जनाइएको छ।

आयोजनाको संशोधित व्यावसायिक सञ्चालन मिति (आरसीओडी) थप ढिलो भए नेपाल विद्युत् प्राधिकरणलाई जरिवाना तिर्नुपर्ने जोखिम रहेको उल्लेख गरिएको छ। त्यस्तै, आरसीओडी संशोधित मितिभन्दा ६ देखि १८ महिनासम्म ढिलो भए विद्युत् खरिद सम्झौताअनुसार प्राप्त हुने वार्षिक ३ प्रतिशतको ट्यारिफ वृद्धि आठ पटकको सट्टा सात पटक मात्र लागू हुने भएकाले आयोजनाको आम्दानी तथा ऋण भुक्तानी क्षमतामा असर पर्ने रिपोर्टमा उल्लेख छ । 

दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् ११ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत ताप्लेजुङको निर्माणाधीन हाङपाङ सबस्टेसनमा जोडिने योजना छ। त्यसपछि विद्युत् हाङपाङ-ढुंगेसाँघु हुँदै बसन्तपुर सबस्टेसनसम्म पुर्याइनेछ। तर प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण सम्पन्न नभए विद्युत् बिक्रीमा ढिलाइ भई कम्पनीको आम्दानी प्रभावित हुन सक्ने जोखिम प्रतिवेदनले औंल्याएको छ।

पिकिङ रन-अफ-द-रिभर प्रकृतिका यी आयोजनाको उत्पादन नदीको बहावमा निर्भर रहने भएकाले सुख्खा मौसममा पानीको मात्रा घट्दा विद्युत् उत्पादन प्रभावित हुन सक्ने जोखिम पनि रहेको छ। 

यद्यपि कम्पनीले करिब ६ घण्टासम्म विद्युत् उत्पादन गर्न मिल्ने पिकिङ रिजर्भोयरको व्यवस्था गरेकाले जलप्रवाहको जोखिम केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ। साथै, पहाडी भूगोलका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले निर्माण र सञ्चालन दुवै चरणमा असर पुर्‍याउन सक्ने सम्भावना पनि औंल्याइएको छ।

मेवा डेभलपर्सले दुवै आयोजनाबाट उत्पादन हुने सम्पूर्ण विद्युत्का लागि नेपाल विद्युत् प्राधिकरणसँग ३० वर्षे विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ। सम्झौताअनुसार मिडल मेवा आयोजनाबाट वार्षिक ४३६.०९ मिलियन युनिट र सिवा खोला आयोजनाबाट ५४.६४ मिलियन युनिट विद्युत् उत्पादन तथा बिक्री हुनेछ।

दुवै आयोजनाको प्लान्ट लोड फ्याक्टर करिब ६७ प्रतिशत रहने अनुमान गरिएको छ। कुल उत्पादनको करिब ३१ प्रतिशत ऊर्जा सुख्खा मौसममा उत्पादन हुने भएकाले उच्च ट्यारिफबाट राम्रो आम्दानी हुने कम्पनीको अपेक्षा छ। 

हाल सुख्खा मौसमको पिक आवरमा प्रतियुनिट १०.५५ रुपैयाँ तथा वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ ट्यारिफ कायम छ। साथै, आधार ट्यारिफमा आठ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुने व्यवस्था रहेकाले दीर्घकालीन आम्दानीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

सन् २०२६ मा स्थापना भएको मेवा डेभलपर्स लिमिटेड सन् २०२१ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीका अध्यक्ष विजयबहादुर राजभण्डारी, निर्देशक मोहनदास मानन्धर तथा प्रबन्ध निर्देशक भानुभक्त पोखरेल रहेका छन् ।

कम्पनील दीर्घकालिन बैंकिङ कर्जा सुविधाका लागि १३ अर्ब ९० करोड ६८ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । 

थप समाचार