एआईमा फर्कियो लगानीकर्ताको भरोसा, दक्षिण कोरियाको कोस्पी सूचकांक १८ प्रतिशतले बढ्यो

एआईमा फर्कियो लगानीकर्ताको भरोसा, दक्षिण कोरियाको कोस्पी सूचकांक १८ प्रतिशतले बढ्यो

एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा पुनः आशा जागेसँगै दक्षिण कोरियाको शेयर बजार शुक्रबार उच्च अंकले उकालो लागेको छ। लगातार तीन दिनसम्मको तीव्र गिरावटपछि बजारले बलियो पुनरागमन गरेको हो।

दक्षिण कोरियाको प्रमुख कोस्पी सूचकांक करिब १८ प्रतिशतले बढेर बन्द भएको छ। यो वृद्धिमा विशेषगरी चिप निर्माता एसके हाइनिक्स र सामसङ इलेक्ट्रोनिक्सको शेयरमा आएको उल्लेखनीय उछालले मुख्य भूमिका खेलेको छ।

अमेरिकी प्रविधि कम्पनी अमेजन र माइक्रोसफ्टले अपेक्षाभन्दा राम्रो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेपछि एआई क्षेत्रमा भइरहेको ठूलो लगानीप्रति लगानीकर्ताको विश्वास फेरि बढेको छ। यही सकारात्मक संकेतले दक्षिण कोरियासहित एशियाली शेयर बजारमा उत्साह ल्याएको विश्लेषकहरू बताउँछन्।

यससँगै, दक्षिण कोरियाका वित्तीय नियामकहरूले पछिल्ला दिनको तीव्र बिक्रीलाई नियन्त्रण गर्न बजार स्थिर बनाउने केही कदम घोषणा गरेका छन्। नियामकको हस्तक्षेपले पनि लगानीकर्ताको मनोबल बढाउन सहयोग पुगेको मानिएको छ।

दक्षिण कोरियामा देखिएको सुधारको प्रभाव जापान र ताइवानका शेयर बजारमा पनि परेको छ। चिप उद्योगसँग सम्बन्धित कम्पनीहरूको शेयर बढेपछि ती देशका प्रमुख सूचकांक पनि हरियाली देखिएका छन्।

एनभिडियाका प्रमुख आपूर्तिकर्ता एसके हाइनिक्सको शेयर करिब ३० प्रतिशतले बढेको छ भने सामसङ इलेक्ट्रोनिक्सको शेयर २८ प्रतिशतले उकालो लागेको छ। केही दिनअघि एआईसम्बन्धी कम्पनीहरूमा व्यापक बिक्री हुँदा यी दुवै कम्पनीका शेयरमा ठूलो गिरावट आएको थियो।

पछिल्ला केही सातायता एआई क्षेत्रमा भइरहेको अर्बौं डलरको लगानीबाट अपेक्षित प्रतिफल कहिले आउने भन्ने अन्योलका कारण विश्वभरका प्रविधि कम्पनीहरूको शेयरमा बिक्रीको दबाब बढेको थियो। तर अमेजन र माइक्रोसफ्टको अपेक्षाभन्दा बलियो नतिजाले त्यो चिन्ता केही हदसम्म कम गरेको देखिएको छ।

दक्षिण कोरियाको शेयर बजारमा पछिल्ला महिनाहरूमा खुद्रा लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढेपछि बजारमा उतारचढाव पनि बढेको छ। यही कारण अत्यधिक गिरावट रोक्न प्रयोग गरिने सर्किट ब्रेकर प्रणाली यस वर्ष धेरै पटक लागू गर्नुपरेको छ। बजारमा असामान्य बिक्रीको चाप देखिँदा कारोबार केही समयका लागि रोक्ने व्यवस्था नै सर्किट ब्रेकर हो।

यद्यपि पछिल्ला दिनमा बजारमा ठूलो उतारचढाव देखिए पनि कोस्पी सूचकांक यस वर्ष समग्रमा अझै मजबुत अवस्थामै रहेको छ। मध्य जुनमा कीर्तिमानी उच्च विन्दुमा पुगेपछि केही करेक्सन आएको भए पनि सूचकांक सन् २०२५ को अन्त्यको तुलनामा अझै ५० प्रतिशतभन्दा बढी माथि रहेको छ।

उता, अमेरिकी बजारमा पनि एआईसँग सम्बन्धित कम्पनीहरूको शेयरमा पुनः उत्साह देखिएको छ। बिहीबार नियमित कारोबारपछि भएको अफ्टर–आवर्स कारोबारमा अमेजनको शेयर ९ प्रतिशतभन्दा बढी र माइक्रोसफ्टको शेयर १५ प्रतिशतभन्दा बढीले बढेको थियो। त्यसको सकारात्मक प्रभाव शुक्रबार एशियाली शेयर बजारमा समेत देखिएको विश्लेषकहरूले बताएका छन्।

थप समाचार