रियल स्टिल्सको व्यापार १३ प्रतिशतले बढ्यो, एक वर्षमा करिब डेढ अर्बको कारोबार  

रियल स्टिल्सको व्यापार १३ प्रतिशतले बढ्यो, एक वर्षमा करिब डेढ अर्बको कारोबार  

काठमाडौं : नेपालमा स्टिल उत्पादन तथा व्यापार गर्दै आएको रियल स्टिल्स प्रालिले सन् २०२५ मा एक अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा १३.२१ प्रतिशतले बढेको हो । 

कम्पनीले सन् २०२४ मा एक अर्ब २४ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो भने यसअघि सन् २०२३ मा एक अर्ब २३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर बढ्दै गएको देखिएको छ । 

यद्यपी व्यापार बढेपनि कम्पनीको सञ्चालन नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा १०.१६ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा घटेर ६.८५ प्रतिशतमा झरेको छ। उच्च ब्याज खर्च, कमजोर बजार तथा मूल्य प्रतिस्पर्धाका कारण कम्पनीको नाफा १० लाख रुपैयाँ पुगेको छ भने नगद आम्दानी एक करोड ७० लाख रुपैयाँ रहेको  छ । 

रियल स्टिल्सले उत्पादन गर्ने स्टिल सामग्रीको माग निर्माण तथा पूर्वाधार क्षेत्रमा सुस्त भएपछि कम्पनीले पछिल्ला दुई वर्षदेखि टीएमटी बार, सिमेन्ट, वेल्डिङ रड लगायतका सहायक निर्माण सामग्रीको व्यापारलाई प्राथमिकता दिएको छ। 

सन् २०२५ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ६९ प्रतिशत हिस्सा यिनै व्यापारिक गतिविधिबाट आएको छ भने उत्पादन व्यवसायको क्षमता उपयोग १३ प्रतिशतमा सीमित रहेको छ।

सन् २०२५ मा कम्पनीको गियरिङ अनुपात ४.८९ गुणा पुगेको छ । जुन अघिल्लो वर्ष ४.५८ गुणा थियो। त्यसैगरी, कम्पनीको ब्याज भुक्तानी क्षमता १.०६ गुणाबाट घटेर ०.९५ गुणामा पुगेको छ। कम्पनीको कुल ऋण र नगद आम्दनाीको अनुपात करिब ७० गुणा पुगेको छ । 

कम्पनीको दीर्घकालीन बैंकिङ कर्जा सुविधा ७५ करोड ४५ लाख ९० हजार रुपैयाँ र अल्पकालीन कर्जा सुविधा ७६ करोड ५० लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल बैंकिङ कर्जा सुविधा एक अर्ब ५१ करोड ९५ लाख ९० हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको १ अर्ब ३६ करोड ८८ लाख ६० हजार रुपैयाँ रहेको थियो । 

कम्पनीले प्रयोग गर्ने हट रोल्ड र कोल्ड रोल्ड स्टिल क्वाइल मुख्य रूपमा भारतबाट आयात हुने गरेको छ । सन् २०१८ मा स्थापना भएको रियल स्टिल्सले सन् २०२० देखि व्यावसायिक उत्पादन थालेको थियो । कम्पनीको उत्पादन उद्योग नेपालको वीरगञ्जमा अवस्थित छ । 

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रेमकुमार जटिया र कार्यकारी निर्देशक दीपाल खन्ना रहेका छन् । रियल स्टिलले एमएस पाइप, सटर पत्ति, सटर गाइड लगायतका स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ५० हजार १९८ मेट्रिक टन रहेको छ ।   

थप समाचार