काठमाडौं : अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर (कम्प्युटर) राकेश कुमार दासविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले दासविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा शुक्रबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार दासले प्रतिष्ठानको इन्जिनियर पदमा नियुक्ति लिने क्रममा भारतको बिहार विद्यालय परीक्षा बोर्ड, पटनाबाट जारी भएको भनिएको इन्टरमिडियट तहको तथा श्री वेंकटेश्वर विश्वविद्यालय, तिरुपति, भारतबाट प्राप्त गरेको भनिएको कम्प्युटर विज्ञानमा इन्जिनियरिङ स्नातक सम्बन्धी शैक्षिक प्रमाणपत्रहरू पेश गरेका थिए।
उजुरीका आधारमा गरिएको अनुसन्धानबाट ती शैक्षिक प्रमाणपत्रहरू झुट्टा रहेको पुष्टि भएको आयोगको दाबी छ। आयोगका अनुसार दासले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति प्राप्त गरी लामो समयसम्म उक्त पदमा रही ओहोदा, तलब–भत्ता तथा अन्य सुविधा समेत लिएका थिए।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।