काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन् । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।
नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए । सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनलाई छनोट गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नियामक निकायहरूले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी दूरसञ्चार क्षेत्रका समस्या समाधानमा विशेष ध्यान दिन र कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए । नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर अधिकारको दुरुपयोग नगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिए ।
मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि उपयुक्त वातावरण बनाउन सदैव तयार रहेको उल्लेख गर्दै उनले सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको महत्वपूर्ण नियामक संस्थाको नेतृत्व सम्हालेकाले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गरे ।
त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उनले बताए ।
उनले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने उल्लेख गरे ।