साढे ३७ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 

साढे ३७ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतलेबढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रुपैयाँ रहेकोमा जेठ मसान्तमा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । 

यस अवधिमा रहेको कुल विदेशी विनिमय सञ्चितिमध्ये  राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा जेठ मसान्तमा ३७.९ प्रतिशतले वृद्धि भई ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा जेठसम्म ६१.८ प्रतिशतले वद्धि भई चार खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ । 

जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

चालु आवको ११ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.५ प्रतिशत, १५९.५ प्रतिशत र ४३.७ प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

यस्तो छ देशको आर्थिक स्थिति 

▪ २०८३ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत र आर्थिक वर्ष २०८२÷८३ को एघार महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ ।

▪ कुल विदेशी विनिमय सञ्चिति रु.३७५५ अर्ब ६४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २४ अर्ब ६८ करोड पुगेको छ । यस्तो सञ्चिति १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

▪ चालु खाता रु.८०२ अर्ब ६ करोड र शोधनान्तर रु.९२६ अर्ब ६ करोड बचतमा रहेको छ । 

▪ विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३८.२ प्रतिशतले र अमेरिकी डलरमा २९.६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको जेठ महिनाको विप्रेषण आप्रवाह रु.२०३ अर्ब ८९ करोड रहेको छ । 

▪ निर्यात १२.३ प्रतिशतले र आयात १५.२ प्रतिशतले बढेको छ । 

▪ नेपाल सरकारको खर्च रु.१३४६ अर्ब ६५ करोड र राजस्व परिचालन रु.१०८१ अर्ब ३१ करोड रहेको छ । 

▪ विस्तृत मुद्राप्रदाय ९.८ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । 

▪ बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १०.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.५ प्रतिशत रहेको छ । 

▪ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७३ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६४ प्रतिशत रहेको छ । 

▪ वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशत रहेको छ ।


 

थप समाचार