एघार महिनामा भित्रियो सवा २१ खर्ब रेमिट्यान्स, साढे तीन लाखले लिए श्रम स्वीकृति 

एघार महिनामा भित्रियो सवा २१ खर्ब रेमिट्यान्स, साढे तीन लाखले लिए श्रम स्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

जेठ मसान्तसम्म अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले बढेको थियो ।

चालु आवको जेठ महिनामा विप्रेषण आप्रवाह दुई खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो ।

थप समाचार