काठमाडौं : ह्याबिट्याट पावर कम्पनी लिमिटेड (एचपीसीएल) ले पाँचथर जिल्लामा निर्माण गरिरहेको ९.९ मेगावाट क्षमताको हेवा–ए साना जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ।
आयोजना निर्माण अन्तिम चरणमा पुगेको भएपनि निर्धारित समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकेपछि कम्पनीले ‘रिकर्डेड कमर्सियल अपरेसन डेट’ (आरसीओडी) थपका लागि सम्बन्धित निकायमा आवेदन दिएको छ।
कम्पनीका अनुसार आयोजनाको अधिकांश भौतिक निर्माण सम्पन्न भइसकेको छ भने वित्तीय प्रगति पनि करिब ९८ प्रतिशत पुगेको छ। यद्यपि निर्माण अवधिमा देखिएका विभिन्न प्राविधिक जटिलता तथा बाह्य परिस्थितिका कारण आयोजना पूर्वनिर्धारित समयभित्र सञ्चालनमा ल्याउन सम्भव नभएको कम्पनीको भनाइ छ।
हेवा–ए आयोजना पाँचथर जिल्लाको याङवरक गाउँपालिका अन्तर्गत सिदिन र याङ्येप्पा क्षेत्रमा निर्माण भइरहेको हो। सुरुवातमा ७.५ मेगावाट क्षमताको योजना बनाइएको यस आयोजनाको विस्तृत प्राविधिक अध्ययनपछि क्षमता बढाएर ९.९ मेगावाट पुर्याइएको थियो। क्षमतासँगै आयोजनाको कुल लागत पनि संशोधन गरिएको छ।
हाल आयोजनाको अनुमानित लागत २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। यस आधारमा प्रतिमेगावाट लागत करिब २४ करोड ८० लाख रुपैयाँ पर्न आएको छ, जुन पछिल्लो समय जलविद्युत् आयोजनामा निर्माण सामग्री, यातायात, श्रम तथा वित्तीय लागत बढ्दै जाँदा भएको लागत वृद्धिसँग मेल खाने कम्पनीको भनाइ छ।
आयोजनाको वित्तीय संरचना ६९ः३१ को ऋण-इक्विटी अनुपातमा तयार गरिएको छ। यसअन्तर्गत १ अर्ब ७० करोड रुपैयाँ दीर्घकालीन बैंक ऋणमार्फत जुटाइनेछ भने बाँकी ७५ करोड रुपैयाँ इक्विटीबाट व्यवस्थापन गरिनेछ। कम्पनीका प्रवर्द्धकहरूले सन् २०२६ फेब्रुअरी १८ सम्म ८० करोड रुपैयाँभन्दा बढी इक्विटी लगानी गरिसकेका छन्।
बाँकी इक्विटी व्यवस्थापनका लागि कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ। कम्पनीले ५५ करोड रुपैयाँ बराबरको जारी पूँजीको २० प्रतिशत अर्थात् ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने योजना बनाएको छ।
यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइनेछ भने बाँकी ५ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल नियुक्त भइसकेको छ।
कम्पनीले सुरुमा आयोजनाको आरसीओडी सन् २०२३ जुलाई २३ का लागि निर्धारण गरेको थियो। तर निर्माण कार्य समयमै सम्पन्न हुन नसकेपछि आरसीओडीको म्याद थपका लागि सम्बन्धित नियामक निकायमा आवेदन दिएको हो।
आरसीओडी थप स्वीकृत भए पनि तोकिएको नयाँ अवधिभित्र आयोजना सञ्चालनमा आउन नसके कम्पनीले थप वित्तीय दायित्व व्यहोर्नुपर्ने जोखिम रहेको छ। विद्युत् खरिद सम्झौताअनुसार निर्धारित आरसीओडीपछि ६ महिनादेखि १८ महिनाभित्र मात्रै आयोजना सञ्चालनमा आए कम्पनीले ट्यारिफ वृद्धि सम्बन्धी सुविधा गुमाउन सक्छ।
यस्तो अवस्था सिर्जना भए आयोजनाबाट प्राप्त हुने अनुमानित आम्दानी घट्ने, नगद प्रवाह कमजोर हुने तथा बैंक ऋण भुक्तानी क्षमतामा प्रत्यक्ष असर पर्ने जोखिम रहेको जनाइएको गरिएको छ। निर्धारित अवधिभन्दा थप ढिलाइ भए जरिवाना तिर्नुपर्ने अवस्था पनि आउन सक्नेछ।
हेवा-ए आयोजना रन-अफ-रिभर (आरओआर) प्रकृतिको आयोजना हो। आयोजनाले हेवा र निवा खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्नेछ। यस्तो प्रकृतिका आयोजनामा विद्युत् उत्पादन नदीको प्राकृतिक बहावमा निर्भर रहने भएकाले वर्षायाममा पर्याप्त पानी हुँदा उत्पादन क्षमता उच्च रहनेछ भने सुख्खायाममा नदीको बहाव घट्दा उत्पादन उल्लेखनीय रूपमा कम हुन सक्छ।
कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग सुरुमा ५ मेगावाट क्षमताको विद्युत् बिक्रीका लागि ‘टेक–अर–पे’ आधारमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो। त्यसपछि थप ४.९ मेगावाट क्षमताका लागि सन् २०२५ मार्च १० मा अर्को पीपीए सम्पन्न गरिएको हो। यससँगै आयोजनाबाट उत्पादन हुने सम्पूर्ण ९.९ मेगावाट विद्युत्को बिक्री सुनिश्चित भएको कम्पनीले जनाएको छ।
पीपीएअनुसार वर्षायाममा प्रति युनिट ४ रुपैयाँ ८० पैसा तथा सुख्खायाममा ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् बिक्री हुनेछ। साथै प्रारम्भिक आठ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले ट्यारिफ वृद्धि हुने व्यवस्था रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् करिब १० किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको फिदिम (थापाटार) १३२र३३ केभी सबस्टेशनमा जोडिनेछ। आवश्यक प्रसारण पूर्वाधारको व्यवस्था रहेकाले विद्युत् निकासीमा ठूलो समस्या नदेखिए पनि आयोजना र प्रसारण लाइन दुवै समयमै सम्पन्न हुनु आयोजनाको सफल सञ्चालनका लागि महत्वपूर्ण हुने कम्पनीको भनाइ छ।
कम्पनीको दीर्घकालीन बैंक ऋण सुविधामा ‘बीबी माइनस’ तथा अल्पकालीन बैंकिङ सुविधामा ‘एफ–फोर’ रेटिङ यथावत् राखिएको छ। साथै कुल बैंकिङ सुविधा १ अर्ब ७६ करोड ४४ लाख रुपैयाँबाट बढेर १ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ पुगेको छ। दीर्घकालीन ऋण सुविधा पनि १ अर्ब ५२ करोड रुपैयाँबाट बढाएर १ अर्ब ७० करोड रुपैयाँ पुर्याइएको छ।
ह्याबिट्याट पावर कम्पनी बीजी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको जलविद्युत् विकास कम्पनी हो। कम्पनीका अध्यक्ष बटु लामिछाने जलविद्युत् तथा निर्माण क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यवसायी हुन्।
कम्पनीको स्थापना २०६३ असार २९ गते निजी लिमिटेड कम्पनीका रूपमा भएको थियो। पछि २०८० असार १६ गते सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो।
हेवा-ए आयोजना ‘निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण’ (बीओटी)मोडेलअन्तर्गत विकास भइरहेको छ। यस मोडेलअनुसार कम्पनीले इजाजत अवधिसम्म आयोजना सञ्चालन गरी विद्युत् उत्पादन गर्नेछ र इजाजत अवधि समाप्त भएपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने व्यवस्था रहेको छ।