सांघाई परिवारको त्रिवेणी दाल तथा तेल उद्योगको व्यापार ११ प्रतिशतले घट्यो, लगातार तीन वर्ष घाटामा

सांघाई परिवारको त्रिवेणी दाल तथा तेल उद्योगको व्यापार ११ प्रतिशतले घट्यो, लगातार तीन वर्ष घाटामा

काठमाडौं : नेपालको व्यापारिक घराना सांघाई परिवारको त्रिवेणी दाल एण्ड आयल इन्डस्ट्रिजको व्यापार सन् २०२५ मा करिब ११ प्रतिशतले घटेको छ ।

Sponsored Advertisement

कम्पनीले सन् २०२५ मा एक अर्ब १३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीले एक अर्ब २६ करोड ६० लाख रुपौयँ बराबरको व्यापार गरेको थियो ।

यसअघि सन् २०२३ मा कम्पनीले एक अर्ब ४० करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्षहरुमा कम्पनीको कारोबार निरन्तर खस्किएको छ । 

खासगरी सरकारी नीतिगत परिवर्तनका कारण केही महिनासम्म दाल आयात रोकिँदा कारोबारमा उल्लेख्य कमी आएको कम्पनीले जनाएको छ । साथै बजारमा बढ्दो प्रतिस्पर्धाले नाफामा दबाब सिर्जना गरेको तथा कम्पनीले लगातार घाटा व्यहोर्दै आएको अवस्थाले रेटिङमा समेत नकारात्मक प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले २०८१ असारमा दाल आयातमा १० प्रतिशत अग्रिम आयकर लगाएपछि साउनदेखि कात्तिक अन्त्यसम्म कम्पनीले आयात लगभग रोकेको थियो । पछि २०८१ मंसिरमा अर्थ मन्त्रालयले अग्रिम आयकर १० प्रतिशतबाट घटाएर २.५ प्रतिशतमा झारेपछि कम्पनीले पुनः आयात सुरु गरेको थियो । 

त्यसपछि बजारमा आपूर्ति क्रमशः सुधार भएको जनाइएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्म कम्पनीले करिब ८० करोड रुपैयाँ बराबरको बिक्री गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यद्यपि कम्पनीको सञ्चालन नाफा मार्जिन भने सुधार देखिएको छ । सन् २०२४ मा ३.६३ प्रतिशत रहेको पीबीआईएलडीटी मार्जिन बढेर ५.०५ प्रतिशत पुगेको छ ।  कच्चा पदार्थको लागत घटेका कारण सञ्चालन नाफा मार्जिन बढेको कम्पनीले जनाएको छ । तर सञ्चालन नाफामा सुधार आए पनि कम्पनीले आर्थिक वर्ष २०८०/८१ सहित लगातार तीन वर्ष घाटा व्यहोरेको छ ।

सन् २०२५ मा कम्पनीको समग्र गियरिङ अनुपात ३.२३ गुणा रहेको छ । अघिल्लो वर्ष यो अनुपात ३.८१ गुणा थियो । कम्पनीले मुख्यतः कार्यशील पुँजी व्यवस्थापनका लागि बैंक ऋणमा अत्यधिक निर्भर रहनुपरेकाले वित्तीय जोखिम बढेको प्रतिवेदनले देखाएको छ । ब्याज तिर्न सक्ने क्षमता केही सुधार भएर १.०२ गुणा पुगे पनि अझै सन्तोषजनक अवस्थामा पुग्न नसकेको रिपोर्टमा औँल्याइएको छ । 

कम्पनीको व्यवसाय अत्यधिक कार्यशील पुँजीमा निर्भर रहेको पनि प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीको सञ्चालन चक्र २०३ दिन पुगेको छ, जुन अघिल्लो वर्ष १९७ दिन थियो । 

कच्चा पदार्थ मौसमी हुने र वर्षभर उत्पादन निरन्तर सञ्चालन गर्न ठूलो परिमाणमा मौज्दात राख्नुपर्ने भएकाले मात्रै १६९ दिन बराबरको स्टक राख्नुपरेको देखिन्छ । ग्राहकबाट रकम उठाउन औसत ४६ दिन लाग्ने भए पनि आपूर्तिकर्तालाई अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थाले कार्यशील पुँजीको आवश्यकता अझ बढाएको छ ।

रेटिङ एजेन्सीले त्रिवेणी दाल एन्ड आयल इन्डस्ट्रिज प्रालिको दीर्घकालीन बैंकिङ सुविधाको क्रेडिट रेटिङ डबल बी बाट घटाएर बीबी माइनसमा झारेको छ । कम्पनीको अल्पकालीन बैंकिङ सुविधाको एफोर रेटिङ भने यथावत् कायम गरिएको छ । कम्पनीको वित्तीय अवस्था कमजोर बनेपछि दीर्घकालीन रेटिङ घटाइएको हो। 

कम्पनीको दीर्घकालीन बैंकिङ सुविधा ३१ करोड ४५ लाख रुपैयाँबाट घटेर २८ करोड रुपैयाँमा सीमित भएको छ भने अल्पकालीन बैंकिङ सुविधा ३७ करोड रुपैयाँबाट घटेर २२ करोड रुपैयाँमा पुगेको छ । यससँगै कुल बैंकिङ सुविधा ६८ करोड ४५ लाख रुपैयाँबाट घटेर ५० करोड रुपैयाँमा झरेको छ । 

प्रतिवेदनले दाल तथा गेडागुडीको मूल्य अन्तर्राष्ट्रिय बजारमा उत्पादन, मौसम, माग–आपूर्ति तथा मौज्दातको अवस्थाअनुसार निरन्तर उतारचढाव हुने भएकाले कम्पनीको व्यवसाय मूल्य जोखिममा रहेको जनाएको छ । 

कम्पनीले अधिकांश कच्चा पदार्थ विदेशबाट अमेरिकी डलरमा आयात गर्ने र बिक्री नेपाली रुपैयाँमा गर्ने भएकाले विनिमय दरमा हुने परिवर्तनले पनि नाफामा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ । 

सन् १९९५ मा स्थापना भएको त्रिवेणी दाल एन्ड आयल इन्डस्ट्रिजले मुख्य गरी विभिन्न किसिमका दाल तथा गेडागुडीहरुको आयात, प्रशोधन तथा बिक्री र निर्यात गर्दै आएको छ । 

बारा जिल्लाको छातापिप्रामा प्लान्ट रहेको कम्पनीले मुसुरो दाल (रातो), सुकेको र हरियो केराउ बिक्री गर्छ । कम्पनीसँग वार्षिक १८ हजार मेट्रिक टन लाख तथा अन्न प्रशोधन गर्न सक्ने अनुमति रहेको छ । 

कम्पनीको प्रवद्र्धक संघाई परिवार नेपालका बैंकिङ, बीमा, उत्पादन तथा व्यापारलगायत विभिन्न क्षेत्रमा सक्रिय व्यवसायिक समूहका रूपमा परिचित छ ।  कम्पनीका अध्यक्ष वीरेन्द्र कुमार संघाई रहेका छन् । 

थप समाचार