निर्माण सुरु भएको सात वर्षपछि सञ्चालनमा आयो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग

निर्माण सुरु भएको सात वर्षपछि सञ्चालनमा आयो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग

काठमाडौं : नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। निर्माण सुरु भएको करिब सात वर्षपछि धादिङ र काठमाडौं जोड्ने २.८ किलोमिटर लामो सुरुङमार्ग आज विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।

सुरुङमार्गको औपचारिक उद्घाटन आयोजनामा सुरुदेखि नै संलग्न कर्मचारी ६३ वर्षीय पूर्णबहादुर जोशीले रिबन काटेर गरेका हुन्। उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

यद्यपि कार्यक्रमको ब्यानरमा ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूबाट नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्ग उद्घाटन कार्यक्रम’ उल्लेख गरिएको थियो । तर, उद्घाटन भने मन्त्रीले नगरी आयोजनामा लामो समयदेखि कार्यरत कर्मचारी जोशीलाई जिम्मेवारी दिइएको थियो। तर, औपचारिक शिलालेखमा भने मन्त्री लम्सालकै नाम उल्लेख गरिएको छ।

उद्घाटनपछि मन्त्री लम्सालले जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोलाई आफैँ गाडी चलाएर २.८ किलोमिटर लामो सुरुङमार्ग पार गराएका थिए।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको अवधारणा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत अघि बढाइएको थियो। त्यसपछि सुशील कोइराला प्रधानमन्त्री रहेका बेला २०७० देखि २०७२ सालसम्म सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन तयार गरिएको थियो। 

जाइकाको चासोपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको र २०७३ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जापानसँग १७ अर्ब ६३ करोड येन सहुलियतपूर्ण ऋण सम्झौता गरेको थियो।

ऋण सम्झौतापछि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए। सोही वर्ष जापानको हाज्मा आन्दो कर्पोरेसनसँग ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर, कोरोना महामारी, मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले निर्माण कार्य निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

यसअघि सुरुङमार्गको शिलान्यास र ‘ब्रेक थ्रु’ जस्ता महत्वपूर्ण कार्यक्रम प्रधानमन्त्रीहरूबाट हुँदै आएका थिए। यसपटक भने उद्घाटन प्रधानमन्त्रीको अनुपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थितिमा सम्पन्न भएको हो।

थप समाचार