एमबीबीएस सिट बढेसँगै किष्ट मेडिकल कलेजले गर्यो साढे एक अर्ब आम्दानी, नाफा मार्जिन भने घट्दो

एमबीबीएस सिट बढेसँगै किष्ट मेडिकल कलेजले गर्यो साढे एक अर्ब आम्दानी, नाफा मार्जिन भने घट्दो

काठमाडौं : किष्ट मेडिकल कलेजले सन् २०२५ मा एक अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ४४.७६ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले एक अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

Sponsored Advertisement

यसअघि कम्पनीले सन् २०२३ मा ८३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो भने सन् २०२२ मा ६८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।त्यस्तै कम्पनीले सन् २०२१ मा ५१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढ्दै गएको देखिएको छ । 

खासगरी मेडिकल कलेजतर्फ विद्यार्थी संख्या वृद्धि हुनुका साथै अस्पताल सेवाबाट हुने आम्दानी बढेपछि कुल आम्दानीमा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सन् २०२५ मा मेडिकल कलेजको आम्दानी करिब ३३ प्रतिशतले र अस्पतालको आम्दानी करिब ५६ प्रतिशतले बढेको थियो । साथै, एमबीबीएसमा वार्षिक विद्यार्थी भर्ना क्षमता १०० बाट बढाएर १२० पुर्याएकाले कारोबार बढेको कम्पनीले जनाएको छ ।

तथापी कम्पनीको कारोबार बढेपनि सन् २०२३ देखि कम्पनीको सञ्चालन नाफा मार्जिन भने निरन्तर रुपमा घटेको छ । सन् २०२३ मा ३२ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२४ मा २६ प्रतिशतमा झरेको थियो भने सन् २०२५ मा सञ्चालन नाफा मार्जिन करिब १८ प्रतिशतमा सीमित भएको छ । 

नाफा मार्जिनमा आएको गिरावटका कारण कम्पनीको ऋण तिर्ने क्षमता कमजोर रहेको रिपोर्टमा उल्लेख छ । कम्पनीको पूँजी संरचना अझै उच्च ऋणमा आधारित रहेको छ । सन् २०२५ को  कम्पनीको ऋण–पूँजी अनुपात ८.५ गुणा रहेको छ भने कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात ४.५ गुणा रहेको छ ।

सन् २००६ देखि सञ्चालनमा रहेको किस्टले एमबीबीएस, बीडीएस, स्नातकोत्तर तह तथा अन्य प्यारामेडिकल कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीसँग ललितपुरमा ३०० शय्याको स्वीकृत क्षमतासहित अस्पताल सञ्चालनमा रहेको छ ।

 पछिल्ला तीन वर्षमा अस्पतालको शय्या उपयोग दर करिब ५२ देखि ५४ प्रतिशतको आसपास रहेको छ । कम्पनीका अध्यक्ष आशिष थापा रहेका छन् ।

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ५० करोड रुपैयाँ बराबरो रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि एक अर्ब १५ करोड ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३४ करोड ६३ लाख रुपैयाँको रेटिङ गराएको हो ।

 

थप समाचार