काठमाडौं : इसेवा मनी ट्रान्सफर प्राइभेट लिमिटेडले सन् २०२६ को १० महिनामा १५ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो भने सन् २०२४ मा २१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२३ मा २३ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा २३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२५ मा रेमिट्यान्स क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढ्नुका साथै र सेवा शुल्क तथा कमिसन दरमा आएको दबाबले आम्दानीमा प्रभावित भएको कम्पनीले जनाएको छ ।
यद्यपि, सन् २०२६ को १० महिनामा सञ्चालन नाफा मार्जिन सुधार भएर २०.७६ प्रतिशत पुगेको छ। सन् २०२२ मा यस्तो मार्जिन २४.३५ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर १७.८९ प्रतिशत पुगेको थियो।
त्यस्तै, कम्पनीको खुद नाफा मार्जिन पनि पछिल्ला वर्षमा दबाबमा परेको थियो। सन् २०२२ मा १५.०१ प्रतिशत रहेको खुद नाफा मार्जिन सन् २०२५ मा ५.३८ प्रतिशतमा झरेको थियो। तर चालु आर्थिक वर्षको १० महिनामा सुधार हुँदै ७.४१ प्रतिशत पुगेको छ।
कम्पनी एफवान सफ्ट इन्टरनेसनल ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको छ। एफवान सफ्ट नेपालकै अग्रणी फिनटेक समूहका रूपमा परिचित छ, जसले सन् २००४ देखि डिजिटल वित्तीय सेवाको क्षेत्रमा काम गर्दै आएको छ।
कम्पनीको नेतृत्व अध्यक्ष विश्वास ढकालको अध्यक्षतामा रहेको पाँच सदस्यीय सञ्चालक समितिले गर्दै आएको छ भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अजेश कोइरालाले सम्हालिरहेका छन्।
कम्पनीको पूँजी संरचनामा पछिल्ला वर्षहरूमा सुधार देखिएको छ। सन् २०२५ मा कम्पनीको कुल ऋण न्यून स्तरमा झरेको थियो भने सो अवधिमा समग्र गियरिङ अनुपात ०.०७ गुणा कायम भएको थियो। तर, चालु आवको १० महिनामा कार्यशील पूँजी आवश्यकताका कारण ऋण बढेर करिब २४ करोड ४० लाख रुपैयाँ पुगेपछि गियरिङ अनुपात १.१६ गुणामा पुगेको छ।
रेमिट्यान्स कारोबारको ठूलो हिस्सा अन्तर्राष्ट्रिय मनी ट्रान्सफर अपरेटरहरूसँगको पूर्वभुक्तानी प्रणालीमार्फत सञ्चालन हुने भएकाले कम्पनीलाई अत्यधिक कार्यशील पूँजी आवश्यक नपर्ने रेटिङ प्रतिवेदनमा उल्लेख छ। कम्पनीको हालको अनुपात सन् २०२५ मा १.२८ गुणा र सन् २०२६ को १० महिनामा १.२७ गुणा रहेको छ।
कम्पनीको ऋण तिर्ने क्षमता पनि सन्तोषजनक रहेको छ। सन् २०२५ मा ब्याज भुक्तानी क्षमता १.८१ गुणा रहेकोमा चालु आर्थिक वर्षको १० महिनामा सुधार भएर २.०५ गुणा पुगेको छ।
नेपालको रेमिट्यान्स क्षेत्रको दीर्घकालीन सम्भावना भने सकारात्मक रहेको रेटिङ प्रतिवेदनले जनाएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वृद्धि, औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्तिमा आएको सुधार तथा डिजिटल भुक्तानी प्रणालीको विस्तारले यो क्षेत्रलाई थप बलियो बनाइरहेको छ।
मोबाइल वालेट, एपमा आधारित रेमिट्यान्स सेवा तथा डिजिटल वित्तीय प्रणालीको प्रयोग बढ्दै जाँदा कम्पनीहरूलाई बजार विस्तारको अवसर सिर्जना भइरहेको छ। इसेवा मनी ट्रान्सफरले हाल ६० भन्दा बढी अन्तर्राष्ट्रिय मनी ट्रान्सफर अपरेटरसँग साझेदारी गर्दै आएको छ।
कम्पनीसँग नेपालभर १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा ४ हजारभन्दा बढी बैंक, सहकारी र व्यक्तिगत एजेन्टको नेटवर्क रहेको छ। कम्पनीमा एफवान सफ्ट इन्टरनेसनलको करिब ७५ प्रतिशत स्वामित्व रहेको छ।
तर, नेपाल राष्ट्र बैंकका नीतिगत परिवर्तन, अन्तर्राष्ट्रिय रेमिट्यान्ससम्बन्धी नियम, वैदेशिक रोजगारी नीति तथा डिजिटल भुक्तानी क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले कम्पनीको भविष्यको प्रदर्शनमा असर पार्न सक्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीका अनुसार नेपालमा इजाजतप्राप्त रेमिट्यान्स कम्पनी, बैंक तथा डिजिटल वालेट सेवा प्रदायकबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। प्रतिस्पर्धात्मक सेवा शुल्क, ग्राहक आकर्षित गर्न ल्याइने विभिन्न योजना तथा डिजिटल कारोबारको विस्तारले बजार हिस्सा र सेवा शुल्कबाट हुने आम्दानीमा दबाब पर्न सक्ने कम्पनीको भनाइ छ।
इसेवा मनी ट्रान्सफरले अल्पकालिन बैंकिङ कर्ज सुविधाका लागि ७० करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ ।