काठमाडौं : नेपाल धितोपत्र बोर्डले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न तीन कम्पनीलाई अनुमति दिएको छ । बोर्डले २०८३ बैशाख २ गते बुधबार एभरेष्ट कलर, माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
सेबोनले यी तीन कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४२ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । जसअनुसार एभरेष्ट कलर लिमिटेडले सात करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी माउण्ट एभरेष्ट पावर डेभलपमेण्टले २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आठ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि स्वीकृति पाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment