Below Menu
Below Menu

चौधरी फाउन्डेसनद्वारा सुनसरीमा वर्थिंङ सेन्टरको स्तरोन्नति 

चौधरी फाउन्डेसनद्वारा सुनसरीमा वर्थिंङ सेन्टरको स्तरोन्नति 

काठमाडौं : चौधरी फाउण्डेशनले एक औपचारिक समारोहमार्फत गडी गाउँपालिका–७ अन्तर्गत रहेको सत्यमझोरा स्वास्थ्य चौकीमा स्तर उन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागी सामग्रीहरु हस्तान्तरण गरी उद्घाटन गरेको छ । यो सहयोगले यस क्षेत्रका आमाहरू र नवजात शिशुहरूका लागि सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवामा पहुँच प्रवर्धन गर्ने उद्देश्य राखेको छ । 

चौधरी फाउन्डेशनले स्वास्थ्य चौकीलाई आवश्यक सामग्रीहरु  उपलब्ध गराई प्रसूति केन्द्रलाई आधुनिक, उपयोगी र मापदण्डअनुसारको सुविधासहित सक्षम बनाउन सहयोग गरेको छ। आजको हस्तान्तरण तथा उद्घाटन समारोहमा चौधरी समूहका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरी, गडी गाउँपालिकाका अध्यक्ष, स्थानीय प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “यो केवल एउटा परियोजना मात्र होइन, प्रत्येक आमाले सुरक्षित वातावरणमा सुरक्षित प्रसूति गर्ने अवसर पाउन र प्रत्येक नवजात शिशुले सम्मानजनक तथा स्वस्थ जीवनको सुरुवात पाउन हामीले गरेको हार्दिक प्रतिबद्धता हो।”

अन्य वक्ताहरूले समुदाय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ गर्नु अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै चौधरी फाउन्डेशनको दीर्घकालीन योगदानप्रति आभार प्रकट गरे।

सुनसरीमा भएको यो पहल चौधरी फाउन्डेशनद्वारा सातै प्रदेशमा सञ्चालन भइरहेका प्रसूति केन्द्र सुदृढीकरण कार्यक्रमको एक महत्त्वपूर्ण हिस्सा हो। संस्थाले स्थानीय आवश्यकता अनुरूप प्रसूति केन्द्रहरू आधुनिक उपकरण तथा पूर्वाधारले सुदृढ गर्दै आएको र आगामी दिनहरूमा पनि यसलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ।

उनका अनुसार अहिलेसम्म नवलपरासीको पक्लिहवा प्रसूति केन्द्र, नवलपुरको देवचुली नगर अस्पताल, र सप्तरीको फत्तेपुर स्वास्थ्य चौकी सहित चार वटा प्रसूति केन्द्रको स्तरोन्नति गरिएको छ । 

चौधरी फाउन्डेशनले नेपालका आमाहरू र शिशुहरूका लागि सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा, महिला सशक्तिकरण तथा राष्ट्रिय मातृ–शिशु स्वास्थ्य लक्ष्यप्राप्तिमा निरन्तर योगदान दिँदै आएको छ र भविष्यमा पनि यो अभियानलाई अझ सबल बनाउँदै लैजाने उद्दृेश्य लिएको छ ।
 

Advertisment

थप समाचार