काठमाडौं : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल सरकारद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटले मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण आधार तयार गरेको जनाएको छ।
परिसंघले आइतबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय सुस्त बन्दै गएको आर्थिक गतिविधि, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’ प्रवृत्ति तथा बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्थाबीच आएको बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने आशा जगाएको उल्लेख गरेको छ।
सिबिफिनका अनुसार बजेटमा समावेश गरिएका कर प्रणाली सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा जोड, ऊर्जा क्षेत्रको विस्तार र लगानीमैत्री नीतिगत व्यवस्था सकारात्मक तथा दूरदर्शी कदम हुन्।
विशेषगरी बैंकिङ क्षेत्रमा पछिल्लो समय चुनौतीका रूपमा देखिएको खराब कर्जा (एनपीए) तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको घोषणा ऐतिहासिक र समयसापेक्ष रहेको परिसंघले जनाएको छ।
विज्ञप्तिमा निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै बजेटले लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।
व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, करका दरमा पुनरावलोकन, औद्योगिक कच्चा पदार्थको आयातमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालन गर्ने व्यवस्थाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास परिसंघले व्यक्त गरेको छ।
सिबिफिनले प्रस्तुत बजेटले आन्तरिक तथा विदेशी लगानी आकर्षित गर्न, उद्यमशीलता विकास गर्न, रोजगारीका अवसर सिर्जना गर्न तथा उत्पादनमूलक क्षेत्रको विस्तारमार्फत अर्थतन्त्रमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरेको छ। साथै निजी क्षेत्रको पुनर्जागरण र उच्च आर्थिक आत्मविश्वास निर्माणमा समेत बजेटले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको ठहर छ ।
परिसंघले बजेटमा समावेश जनमुखी तथा विकासमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै नीतिगत स्थायित्व कायम राख्न र निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाउन सरकारसँग आग्रह गरेको छ। आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार तथा दिगो उच्च आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यमा सरकारसँग सहकार्य गर्न सिबिफिन पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
सिबिफिनले सरकारका बजेटमार्फत घोषणा गरिएका सुधारात्मक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा मुलुकको अर्थतन्त्र पुनः गति लिने, निजी क्षेत्रको विश्वास बढ्ने तथा आत्मनिर्भर र समृद्ध नेपालको आधार निर्माण हुने विश्वास व्यक्त गरेको छ
Advertisment