Below Menu
Below Menu

स्वाथ्य बीमाको रकम भुक्तानीमा बेथितिः उपचार नै नगरी भुक्तानी माग्ने गरेको गुनासो 

स्वाथ्य बीमाको रकम भुक्तानीमा बेथितिः उपचार नै नगरी भुक्तानी माग्ने गरेको गुनासो 

घोराही : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताएका छन् । नेपाली कांग्रेस दाङले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताए । 

अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बीमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतको यसमा सहयोग आवश्यक रहेको बताए । 

सरकारसँगै बीमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसंस्थामा काम गर्नेहरूले दुई प्रतिशत बीमा बोर्डमा जग्मा गर्नसक्ने अवस्था भए यस क्षेत्रमा देखिएका समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।  

मन्त्री पौडेलले सरकारले बिमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीलाई अघि सारेको बताए । 

बीमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आइरहेकाले त्यसमा सुधारको आवश्यकता औँल्याउँदै उनले भने, “स्वास्थ्य बीमा क्षेत्रमा केही विकृति देखिएका छन् । उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो पनि आउने गरेका छन् । यस्तो कार्य गलत हो, साँच्चै त्यस्तो भएको पाइए कारबाही हुन्छ ।” 

मन्त्री पौडेलले अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्नेमा जोड दिए । सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उनले अस्पतालको फार्मेसीमा औषधि नराख्ने, सरकारी अस्पतालबाट सेवा दिने अवस्थामा पनि बिरामीलाई बाहिर रिफर गरेको पाइए कडा कारबाही हुने चेतावनी दिए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले सरकारले जनतालाई उपलब्धिको महसुस गराउन नसके २०८४ सालको निर्वाचनमा अप्ठेरो पर्ने बताए । देशका प्रमुख दुई पार्टी कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको र सरकारले जनतालाई परिवर्तनको महसुस गराउने गरी काम गर्ने प्रयत्न गरिरहेको उनको भनाइ थियो ।

Advertisment

थप समाचार