काठमाडौं : सन् २०२३ को अक्टोबरमा पर्यटक आवागमनमा रेकड ब्रेक भएको छ । पर्यटन बोर्डका अनुसार एक महिनामा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । यो संख्या हालसम्मकै उच्च रहेको हो ।
सन् २०२३ को जनवरी महिना देखि नै पर्यटक आवागमनमा वृद्धि हुँदै आएपनि अक्टोबरमा उच्च संख्यामा पर्यटकहरु नेपाल घुम्न आएका हुन् । बोर्डका अनुसार जनवरीदेखि हालसम्म आठ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डका अनुसार सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक आएका थिए भने सन् २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए ।
कोभिड महामारीपछि पर्यटक आवागमनमा १०३.७ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार अक्टोबरमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतबाट यस अवधिमा १८ हजार ४८० पर्यटक नेपाल भित्रिएका हुन् ।
त्यस्तै, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८० अष्ट्रेलियाबाट ६ हजार ७५,जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।
Advertisment