काठमाडौं : यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि झण्डै १२ सय पर्यटकले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल चढ्न कात्तिक ८ गते अर्थात (अक्टोबर २५) सम्म स्वदेशी तथा विदेशी १ हजार १८५ पर्यटकले अनुमति लिएका हुन् ।
यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या बढ्न थालेको हो । शरद ऋतुलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ ।
विभागका अनुसार यस याममा ४९ वटा हिमाल आरोहणका लागि विभिन्न देशका १ हजार १८५ नागरिकले अनुमति लिएका हुन् । जसमा ९४८ पुरुष र २३७ महिला रहेका छन् ।
विभागका अनुसार यस अवधिमा मनास्लु आरोहणका लागि सर्वाधिक आरोहीहरुले अनुमति लिएका छन् । मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।
हिमाल आरोहणका लागि अनुमति लिएका १५० टिमबाट छ करोड ९१ लाख ९६ हजार ४५१ रुपैयाँ रोयल्टी संकलन भएको छ । जसमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३०१ जनाबाट तीन करोड ४० लाख ३७ हजार ८२० रुपैयाँ रोयल्टी संकलन भएको हो ।
यस अवधिमा हिमलुङ हिमाल आरोहणका लागि अनुमति लिएका १२५ जनाबाट ४१ लाख ५० हजार ३५० रुपैयाँ, अमाडब्लम आरोहणका लागि अनुमति लिएका ४०९ जनाबाट एक करोड ९६ लाख ५८ हजार ४६२ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
यस वर्षको शरद याममा हिमाल आरोहणका लागि ७२ देशका आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा बढी फ्रान्सका १०४ आरोही रहेका छन् । त्यस्तै, बेलायतका १०३, जर्मनीका ८६, चीनका ७८ र अन्य जापान, मोरक्को बंगलादेश, अर्जेन्टिना, अमेरिका, सिंगापुर, नेदरल्याण्ड, नर्वे, पाकिस्तान, स्विजरल्याण्ड, स्वीडेन लगायतका विभिन्न देशका नागरिकहरु रहेका छन् ।
Advertisment