Below Menu
Below Menu

बीमाको दायरा विस्तारमा संकुचन, व्यवसाय पनि घट्दै 

बीमाको दायरा विस्तारमा संकुचन, व्यवसाय पनि घट्दै 

काठमाडौं : पछिल्लो समय बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो ।

गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४४.१४ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको भदौ मसान्तसम्मको तथ्यांक हेर्दा यो संख्या ४२.२० प्रतिशतमा सिमित भएको छ ।

मन्दीका कारण बीमा प्राथमिकतामा परेन

त्यसो त बीमाको दायरा विस्तारका लागि प्राधिकरणले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । स्थानीय तहहरुको समन्वयमा बीमा क्षेत्रका बारेमा अन्तक्र्रिया कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । तर, बीमा दायरा विस्तारमा भने वृद्धि हुन सकेको छैन ।

पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीका कारण बीमा क्षेत्रमा पनि असर परेको बीमा विज्ञ बताउँछन् । मुलुकमा देखिएको आर्थिक संकट, बजारको महंगी र बैंकको बढ्दो ब्याजदरका कारण बीमा क्षेत्रलाई प्राथमिकतामा नराखेको उनीहरुको भनाई छ ।

बीमाको दायरासँगै व्यवसाय पनि घट्दै

बीमा क्षेत्रको दायरा संँगसँगै बीमा कम्पनीहरुहरुको व्यवसाय पनि घट्दै गएको छ । गत वर्षको भदौ मसान्तसम्म ७ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आवको सोही अवधिमा आइपुग्दा १०.१० प्रतिशतले घटेर ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँमा सिमित भएको छ । 

यता जीवन बीमा कम्पनीहरुको व्यवसायमा भने सामान्य वृद्धि देखिएको छ । भदौ मसान्तसम्म २९ अर्ब १३ करोड ११ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ११.८६ प्रतिशतले बढेको हो । गत आवको भदौ मसान्तसम्म २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको थियो ।

प्राधिकरणका अनुसार निर्जीवन र जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क संकलन भने ३६ अर्ब २१ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो बीमाशुल्क ३३ अर्ब ९२ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

चालु आवको भदौ मसान्तसम्ममा कुल जीवन बीमालेख संख्या ४.१८ प्रतिशतले घटेर एक करोड ३४ लाख ५३ हजार १६६ मा सिमित भएको छ भने निर्जीवन बीमालेख संख्या ८.१५ प्रतिशतले घटेर ४ करोड ९ लाख ८० मा सिमित भएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको जीवन बीमालेख संख्या ६.२४ प्रतिशतले घटेर ५० लाख ४६ हजार ४६० मा झरेको छ । त्यस्तै, म्यादि र लघुम्यादि जीवन बीमालेख संख्या ११.०५ प्रतिशतले घटेर ६७ लाख २ हजार ६३३ रहेको छ ।

यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा भने वृद्धि भएको छ । गत आवको भदौ मसान्तसम्म ११ लाख २२ हजार २९५ वैदेशिक रोजगार बीमालेख संख्या रहेको यस अवधिमा ५१.८४ प्रतिशतले बढेर १७ लाख ४ हजार ७३ मा पुगेको छ ।

त्यस्तै, यस अवधिमा म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १५.७२ प्रतिशत रहेको छ भने म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३६.६१ प्रतिशत रहेको छ ।

मर्जरका कारण कार्यालय संख्या घट्यो

प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुको कार्यालय र कर्मचारीको संख्या पनि घट्दै गएको छ । पछिल्लो समय धेरै कम्पनीहरुको मर्जरमा गएका कारण पनि कार्यालयका संख्या घट्दै गएको बीमा कम्पनीका सञ्चालक बताउँछन् । 

यस अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या २०.९४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १५.८२ प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार गत आवको भदौ मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या ३ हजार ३६२ रहेको थियो भने चालु आवको यस अवधिमा आइपुग्दा यस्तो संख्या घटेर २ हजार ८३० मा झरेको छ ।

पाँच सय ७८ कर्मचारी घटे

गत वर्षको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बीमा कम्पनीहरुका कर्मचारी ५७८ जना घटेका छन् । गत आवको सोही अवधिमा १ज्ञ हजार ८८९ कर्मचारी रहेका बीमा कम्पनीहरुमा क्ष्स अवधिमा आइपुग्दा घटेर ११ हजार ३११ जना रहेका छन् ।

भदौ मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको कर्मचारी ८.४९ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी ०.९३ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

Advertisment