जुम्लाको स्याउ काठमाडौंमा, सहकारीले सुरु गर्‍यो प्रदर्शनी तथा बिक्री सप्ताह

जुम्लाको स्याउ काठमाडौंमा, सहकारीले सुरु गर्‍यो प्रदर्शनी तथा बिक्री सप्ताह

काठमाडौं : जुम्लाको माटोमा फलेको स्वादिलो स्याउ अब काठमाडौंका उपभोक्ताको पहुँचमा पुगेको छ। जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य कृषकले उत्पादन गरेको स्याउ काठमाडौं ल्याएर ‘प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु गरेको छ।

काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् परिसरमा आजदेखि सुरु भएको सप्ताहमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले समेत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री चौधरीले स्वदेशी स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणका लागि भइरहेका प्रयासबारे जानकारी लिनुभएको थियो।

मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै कृषकलाई प्रोत्साहन हुने गरी अनुसन्धान र बजारीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

संस्थाका प्रमुख व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार यस वर्ष जुम्लाका सदस्य कृषकबाट ३ लाख किलोग्राम स्याउ खरिद गरी काठमाडौं ल्याइएको छ। विगतदेखि रैथाने बालीको बजारीकरण गर्दै आएको सहकारीले उपभोक्ता र किसानको मागलाई ध्यानमा राख्दै यस वर्षदेखि स्याउको बजारीकरणसमेत सुरु गरेको उहाँले बताउनुभयो।

जुम्लाको ताजा तथा अर्गानिक स्याउ उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको भद्रकालीस्थित नेपाल टेलिकम अगाडि स्याउ भण्डारणका लागि स्टोरसमेत राखिएको छ।

सहकारीको यो पहलले जुम्लाका किसानले उत्पादन गरेको स्याउलाई बजारसँग जोड्नुका साथै काठमाडौंका उपभोक्तालाई स्थानीय तथा स्वदेशी उत्पादन रोज्ने अवसरसमेत दिएको छ।

थप समाचार