काठमाडौं : एक महिनामा एक अर्बबढीका बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा १४ जीवन बीमा कम्पनीका ९ हजार ३८६ बीमितले एक अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
प्राधिकरणका अनुसार गत साउन महिनाको तुलनामा भदौमा बीमा पोलिसी सरेन्डर गर्नेको संख्या ७.८९ प्रतिशतले घटेको छ । साउनमा ९ हजार ७९८ बीमितले एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।
यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफका बीमितले पोलिसी सरेन्डर गरेका छन् । भदौमा उक्त कम्पनीका २ हजार ५४२ बीमितले ४० करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् । त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानका एक हजार १३४ बीमितले ९ करोड ८१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ५९ लाख रुपैयाँ बराबरको ६९९वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २७ करोड ५८ लाख रुपैयाँ बराबरको एक हजार ८२३ वटा बीमालेख सरेन्डर भएका छन् ।
त्यस्तै, भदौमा मेट लाइफको तीन करोड ६९ लाख २६ हजार रुपैयाँको ७५८ वटा, एशियन लाइफको चार करोड ८४ लाख रुपैयाँ बराबरको ७५८ बीमालेख, आईएमई लाइफ इन्स्योरेन्सको ४७ लाख ८७ हजार रुपैयाँ बराबरको ४१ वटा र सन नेपाल लाइफको ४० लाख ५३ हजार रुपैयाँ बराबरको ४० बीमालेख सरेन्डर भएका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा रिलायबल नेपाल लाइफका १२२ बीमितले ७२ लाख ७१ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर गरेका छन् भने सिटिजन लाइफ नेपालका २०३ बीमितले भदौमा एक करोड ६३ लाख १२ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।
त्यसैगरी, सूर्यज्योति लाइफको ७ करोड ३१ लाख रुपैयाँ बराबरको ४११ वटा, सानिमा रिलायन्स लाइफको एक करोड २३ लाख रुपैयाँको १५९ वटा, हिमालयन लाइफको ८ करोड ४३ लाख रुपैयाँ बराबरको ९५९ वटा र प्रभु महालक्ष्मी लाइफको एक करोड १४ लाख २३ लाख रुपैयाँ बराबरको ८४ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment