Below Menu
Below Menu

हिमाल आरोहणका लागि अनुमति लिएका २८४ जनाबाट तीन करोडबढी रोयल्टी संकलन  

काठमाडौं : हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । यस वर्षको पर्वतारोहणको सिजन शुरुभएसँगै विभिन्न देशका पर्यटकहरुले हिमाल आरोहणका लागि अनुमति लिने पर्यटकको संख्या बढ्न थालेको हो । 

वर्षा ऋतु सकिन लागेसँगै शरद ऋतु शुरु हुने समय भएको छ । यो सिजनलाई पर्वतारोहणको सिजनका रुपमा पनि लिइन्छ ।
पर्यटन विभागका अनुसार यस चालु आर्थिक वर्षको भदौ महिनामा ६ वटा हिमाल आरोहणका लागि ४४ शका २८४ नागरिकले अनुमति लिएका हुन् । जसमा २२४ पुरुष र ६० महिला रहेका छन् ।

विभागका अनुसार यस अवधिमा हिमाल आरोहणका लागि अनुमति लिएका २८ टिमबाट तीन करोड ४ लाख ६६ हजार ९३० रुपैयाँ रोयल्टी संकलन भएको छ । जसमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका २६६ जनाबाट दुई करोड ९८ लाख ६५ हजार रुपैयाँ र रक्सा उराई हिमाल आरोहणका लागि अनुमति लिएका ४ जनाबाट एक लाख ५ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो ।

त्यसैगरी पूथा हिउँचुली आरोहणका लागि अनसमति लिएका ५ जनाबाट एक लाख ६५ हजार, कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका ५ जनाबाट एक लाख ९८ हजार हिमलुङका आरोहण गर्न लागेका २ जनाबाट ६ट हजार ३७५ र नेमजुङ आरोहणको अनुमति लिएका २ जनाबाट ६६ हजार ३७५ रुपैयाँ रोयल्टी संकलन भएको हो ।

यस अवधिमा हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् । चीनका ६७ नागरिकले यो सिजनमा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । त्यसैगरी, रसियाका २६, क्यानडाका १२ फ्रान्सका १५, स्वीजरल्याण्डका १२, बेलायतका ३० र अमेरिकाका १० लगायात अन्य देशका नागरिकहरु रहेका छन् ।
 

Advertisment