Below Menu
Below Menu

प्याकेजिङ सामग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङले गर्याे एक वर्षमा पाैने दुई अर्बको व्यापार

प्याकेजिङ सामग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङले गर्याे एक वर्षमा पाैने दुई अर्बको व्यापार

काठमाडौं : प्याकेजिङ र्यापर सामग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङ प्राइभेट लिमिटेडको व्यापारमा उल्लखेनीय वृद्धि देखिएको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ८४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा २८.२० प्रतिशतले बढी हो । 

कम्पनीले सन् २०२४ मा एक अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा एक अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको अप्रिलसम्ममा एक अर्ब ७४ करोड ५० लाख रुपैयाँको कारोबार गरिसकेको छ । 

कम्पनीको व्यापार बढेपनि सञ्चालन नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा १२.८४ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर ११.४७ प्रतिशत कायम भएको छ । यद्यपी कम्पनीको नाफा मार्जिनमा केही दबाब देखिए पनि ऋण तिर्ने क्षमता सुधारोन्मुख देखिएको छ । ब्याज कभरेज अनुपात २.७० गुणाबाट बढेर ४.७० गुणा पुगेको छ ।

कम्पनीले दीर्घकालिन र अल्पकालिन बैंकिङ कर्जा सुविधाका लाग एक अर्ब ९५ करोड २२ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड ७२ लाख र अल्पकालिन कर्जाका लागि एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो ।

कम्पनीले कच्चा पदार्थको ठूलो हिस्सा भारतबाट आयात गर्ने गर्छ ।  विशेषगरी प्लास्टिकजन्य कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय पेट्रोलियम बजारसँग प्रत्यक्ष जोडिएको हुँदा नाफा मार्जिनमा दबाब परेको रिपोर्टमा उल्लेख छ । 

कम्पनीको प्लान्ट बारा जिल्लाको बहुअरी रहेको छ । उद्योगको कुल जडित क्षमता वार्षिक ७ हजार मेट्रिक टन रहेको छ । साथै, कम्पनीले खाद्य, कृषि, साबुन–डिटर्जेन्ट उद्योगका विभिन्न ग्राहकहरूलाई सेवा दिँदै आएको छ । कम्पनीको प्रबन्ध निर्देशक अमित कुमार झुनझुनवाला रहेका छन् । 


 

Advertisment