एम बैंकलाई कसरी बुझ्ने ?
बैंक वित्तीय संस्था एवम् सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्मको माध्यमबाट न्यून लागतमा आवश्यक सबै प्रविधिगत सेवा उपलब्ध गराउने उद्देश्य लिई स्थापना भएको प्रविधि प्रदायक कम्पनी हो एम बैंक ।
सहकारी किन रोज्नुभयो ?
संख्यात्मक हिसाबले करिब ३० हजारको जनसंख्या र यस अन्तर्गतको सञ्जाल सानो होइन । यो क्षेत्र डिजिटल प्रविधिमा खासै अघि नबढेकोले हाम्रो लागि सम्भावनायुक्त लाग्यो र होमियौं ।
सहकारी बजारमा तपाईहरुको उपस्थिति कस्तो छ ?
स्थापनाको छोटो समयमै एम बैंक प्लेटफर्मसँग हाल साना, मध्यम तथा ठूला गरी ५ सय बढी सहकारी आबद्ध छन् । युवा प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल प्रविधिसँग बढी झुकाव भएका व्यवस्थापकहरु एम बैंकसँग जोडिएका छन् र त्यस्ता व्यक्तिहरु नै यसको सेवाप्रति बढी जिज्ञासु भएको हामीले पाएका छौं । हामीलाई गर्व लाग्छ थोरै समयमा धेरै सहकारीलाई डिजिटल प्रविधिमा जोडेर विभिन्न सेवा सुविधा प्रदान गर्न सफल भएका छौं ।

यसका बिशेषताहरु के छन् ?
हरेक दिन केही न केही नयाँ बिशेषता (फिचर) थपिएको हुन्छ । ब्यालेन्स इन्क्वायरीदेखि युटिलीटी बिल भुक्तानी, बैंक ट्रान्सफर, सहकारी ट्रान्सफर, एटीएम बैंकिङ, सरकारी भुक्तानी लगायत एम बैंकका धेरै सेवाहरुमा उपलब्ध छन् । कुनै पनि बैंकले प्रदान गर्ने भन्दा कम नभई बढी नै सुविधा यसमार्फत उपलब्ध हुन्छन् भने कुनै पनि प्राविधिक जनशक्ति विना नै सहकारीलाई सजिलै प्रविधिमैत्री बनाई हामी सेवा प्रदान गर्न सक्छौं ।
सहकारीहरुले यसको सेवा लिन के गर्नुपर्दछ ?
एकदमै सरल र सहज छ । एम बैंक भर्सन छनौट गरी सम्झौताका माध्यमबाट सजिलै यसको सेवा लिन सकिन्छ । जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एक मात्र मोबाइल बैंकिङ एप हो यो । यसमार्फत आफ्नो संस्थालाई प्रविधिमैत्री बनाउन सहज हुन्छ ।
सहकारीहरु प्रविधिमा अघि बढ्न किन नसकेका होलान् ?
पहिलो कुरा त डिजिटल प्रविधि नेपालमा अलि ढिलो प्रवेश गरेको हो । यसलाई सजिलै चलाउन र सदस्यहरुलाई सेवा सुविधा दिन एकदम सजिलो छ भन्ने कुराको ज्ञान नबाढेर पनि हो जस्तो लाग्छ । हामी आफै पनि धेरै सहकारीहरु भ्रमण गरेर यी विशेषताहरु बोध गराउन सकेका छैनौं । सहकारीका सदस्यहरुलाई यो सेवा बारे शिक्षित गरेर वा सिकाउन नभ्याएर पनि चुनौती लागेको हुनसक्छ । नीति, नियमहरु स्पष्ट नहुँदा पनि दुविधा भएको अवस्थाहरु छन् ।
यसको मुल्य निर्धारणका आधारहरु के हुन् ?
क्रेताले वस्तु वा सेवाको उपयोगिता र गुणको आधारमा मुल्य तिर्ने अर्थशास्त्रको सामान्य सिद्धान्त हो जुन हाम्रो परिप्रेक्ष्यमा पनि लागु हुन्छ । यो एकदमै कम खर्चिलो छ । सहकारीले लिने सेवाको आधारमा मुल्य निर्धारण गरिन्छ । न्यूनतम ५० हजार रुपैयाँदेखि सहकारीले आफ्नै लोगो ब्राण्डिङमा एन्ड्रोइड तथा आइएसओ दुबैमा यो सेवा उपलब्ध गराउँदछौं ।
एम बैंकको रणनीतिक उद्देश्य र लक्ष्य प्रष्ट पारिदिनुहुन्छ कि ?
सबै कम्पनीको आफ्नै रणनीतिक पहिचान हुन्छ । हाम्रो उद्देश्य सर्वसुलभ दरमा गुणस्तरीय र विश्वसनीय सेवा हो । प्रमाण हाम्रो कामले दिने हो । हाम्रो परिकल्पना ‘एम बैंकः एप एक, सुविधा अनेक’ रहेको छ ।
नयाँ नौलो डिजिटल सेवा सुविधाहरु सबैभन्दा पहिले बजारमा ल्याउन पाउने सक्षमता विकास गर्नु हाम्रो अर्को लक्ष्य हो । त्यसका लागि अहोरात्र लागिपरेका छौं । नीति नियम र कानुन काइदा भित्र बसेर सहकारीहरुलाई सातै दिन चौबिसै घन्टा, उत्कृष्ट सेवासहितको डिजिटल प्रविधि पहुँच विकसित गर्न एम बैंक लागिपरेको छ । कम्पनीले सहकारीहरुको सामान्य सेवा प्रदायक भन्दा पनि डिजिटल बैंकिङ तथा भुक्तानी साझेदार निकाय बन्ने हाम्रो अठोट हो । एकपटक हाम्रो सेवा प्रयोग गरेर हेर्न सबै सहकारीहरुलाई आग्रह गर्छौ ।
हामी प्राविधिक भेन्डर भन्दा पनि प्राविधिक साझेदारको रुपमा काम गर्छौ । हाम्रो सेवा सुविधाहरु निरन्तर उन्नत भैरहेको हुन्छ । नयाँ नौलो सुविधा थप वा जडान गर्न हामी जहिले अगाडि हुन्छौं । छिटो, भरपर्दो र सुरक्षित प्रणाली हाम्रो पहिलो प्राथमिकता हो ।
नामबाटै हामी बुझ्न सक्छौं हाम्रो परिकल्पना र लक्ष्य भनेकै एउटै एपबाट सबै खाले डिजिटल सुविधाहरु प्रदान गर्ने हो । जुनै पनि सहकारी सफ्टवेयरमा जडान गर्न सकिने मोबाइल बैंकिङ सेवा भरपर्दो, सुरक्षित र सहज छ । हामीसँग जोडिन आजै सम्पर्क गर्नुहोस् ।
तपाईहरुसँग उपलब्ध जनशक्तिको अवस्था के कस्तो छ ?
हाल ज्ञानोदय मार्ग कलंकी काठमाडौंमा एकमात्र कार्यालय रहेको कम्पनीसँग ३० भन्दा बढी दक्ष प्राविधिक जनशक्ति छ । सहकारीलाई आवश्यक सुविधाहरु खोज अनुसन्धान गरेर एकीकृत गर्न, प्लग एण्ड प्ले सेवाको रुपमा प्रदान गर्न सकिने आधारहरु हामीले निर्माण गरेका छौं । एउटै प्लेटफर्ममा धेरै सुविधा दिने, ओम्नी बैंकिङ सेवा सुरुवात गर्ने जस्ता धेरै कुराहरुसहितको डिजिटल मोबाइल प्रणाली हाम्रो जनशक्तिले विकास गरी सेवारत छ ।
सेवा ग्राहीबाट प्राप्त प्रतिक्रियाहरु कस्ता छन् ?
हाम्रा सबै सेवाग्राहीहरु एकदम खुसी छन् । सकारात्मक पृष्ठपोषणबाट बेग्लै उर्जा प्राप्त गरेका छौं । हाम्रो सेवा मनपराई ‘रिफर’ गरिदिने पनि धेरै हुनुहुन्छ । उहाँहरु सबैप्रति कृतज्ञता व्यक्त गर्दछौं ।
प्रतिस्पर्धी बजारमा चुनौती र सम्भावनालाई कसरी केलाउनुभएको छ ?
चुनौती धेरै छ सँगै सम्भावना पनि अथाह छ । सहकारीलाई प्रविधिमैत्री बनाउने विषयमा स्पष्ट नीति नियम र बलियो कानुनी आधार नभएको सर्वविदितै छ । सहकारीकर्मीहरुमा पनि डिजिटल प्रविधिबारे स्पष्ट ज्ञानको कमी छ । इन्टरनेट सेवा स्थिर छैन । राम्रो क्लाउड सेवा धेरैले अनुभव गर्नुभएको छैन ।
अबको भविष्य नै डिजिटल प्रविधि हो भन्ने ज्ञान अभाव छ । डिजिटल सुरक्षा र संवेदनशीलतामा चासो राख्न जरुरी छ । यी चुनौतीहरुलाई चिर्दै अघि बढ्दा सम्भावनाका ढोकाहरु खुल्छन् भन्ने हामीलाई विश्वास छ ।
प्राविधिक जनशक्ति र सुरक्षामा धेरै चासो नभएको देखेको छु । यी विषयहरुलाई मिलाएर लग्न सकिन्छ । हामी प्राविधिक मार्गदर्शन र सुरक्षित प्रणालीमा मात्र काम गरौं । नीति नियम र सुरक्षामा राम्रो ख्याल पुर्याएमा यो क्षेत्रको छुट्टै पहिचान स्थापित गर्न समय लाग्दैन । सहकार्य आवश्यक छ ।
कम्पनीको भावी योजना के छन् ?
धेरै भन्दा धेरै सहकारीलाई डिजिटल प्रविधिमा आबद्ध गराउने योजना छ । नेपालको डिजिटल इकोसिष्टममा सहकारीको बेग्लै पहिचान बनाउने र सहकारीको पूर्ण प्रणालीलाई डिजिटल तरिकाबाट पेपरलेस बनाएर सेवा सुविधा प्रदान गर्ने पनि हाम्रो योजना छ ।
Advertisment