चैत ८ र ९ गते ( आईतबार र सोमबार) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदैछ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्था र लघुवित्त वित्तीय संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी ५ सय जना भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ। ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारा सहित २ दिनसम्म चल्ने सम्मेलन अन्र्तगत सात वटा शत्रमा लघुवित्तका विविध आयामहरुमा सामुहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । सम्मेलनले लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नेछ । उक्त सम्मेलनको विषयमा केन्द्रित रहेर आयोजक कमिटीका सदस्य समेत रहेका किसान बहुउद्देश्यीय सहकारी संस्था लि., कैलालीका महाप्रबन्धक डम्बर बहादुर शाहसँग गरिएको संक्षिप्त कुराकानी ।
लघुवित्त सदस्य सम्मेलन आयोजना गर्नुको प्रमुख उद्देश्य के हो र सम्मेलनमा कुन-कुन विषयलाई प्राथमिकता दिइन्छ?
‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने मूल नारासहित सम्मेलन आयोजना गर्न लागिएको हो। यस सम्मेलनमा मेचीदेखि महाकालीसम्मका सहकारीमा आवद्ध शेयर सदस्यहरू तथा लघुवित्त संस्थाका सदस्यहरूको सहभागिता रहनेछ। विशेषगरी यो सम्मेलन सदस्य–केन्द्रित रहेको छ, किनभने सहकारी र लघुवित्त दुवै संस्था सदस्यहरूको हितमा काम गर्ने भएकाले सदस्य सशक्त भए मात्रै संस्थाहरू पनि सबल बन्न सक्छन्।
सम्मेलनमा विशेष रूपमा लघुवित्त र सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याहरू, चुनौतीहरू तथा सुधारका उपायहरूबारे गहन छलफल गरिनेछ। साथै, सदस्यहरूको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास र स्वरोजगारका अवसरहरू सिर्जना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिनेछ। छलफलबाट प्राप्त निष्कर्षहरूलाई समेटेर घोषणापत्र जारी गर्दै सम्मेलनको समापन गरिने योजना रहेको छ, जसले आगामी कार्यदिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ। “उद्यमशीलताको विकास, गरिबी निवारणको निकास” नारा सहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, “स्वच्छ लघुवित्त, हाम्रो अभियान” नाराका साथ दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र “घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ” भन्ने नाराका साथ तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७८ सालमा र ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित चौथो सम्मेलन २०८० सालमा सम्पन्न भएको थियो।
२ दिनसम्म चल्ने पाँचौं राष्ट्रिय सम्मेलनमा सात वटा शत्रमा लघुवित्तका विविध आयामहरुमा सामुहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान हुनेछ। जसअन्र्तगत ‘लघुवित्त सदस्यहरुको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौति र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौति र सावधानीका उपाय’, ‘युवास्वरोजगार, तीन शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल हुनेछ ।
विगतका सम्मेलनहरूको समीक्षा गर्दा घोषणापत्रको कार्यान्वयन र प्राप्त उपलब्धिहरूलाई कसरी मूल्याङ्कन गरिएको छ?
हालसम्म चार वटा राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती सम्मेलनहरूबाट प्राप्त अनुभव, सिकाइ र उपलब्धिहरूकै आधारमा हामीले पाँचौं सम्मेलन आयोजना गर्ने निर्णय गरेका हौं। यदि अघिल्ला सम्मेलनहरूबाट जारी भएका घोषणापत्रहरूको कार्यान्वयन प्रभावकारी रूपमा नभएको वा अपेक्षित उपलब्धि हासिल नभएको भए, यसरी निरन्तर सम्मेलन आयोजना गर्ने वातावरण नै बन्ने थिएन।
प्रत्येक सम्मेलनले लघुवित्त क्षेत्रका विभिन्न पक्षहरूलाई उजागर गर्दै सुधारका लागि मार्गनिर्देशन गरेको छ। विशेषगरी घोषणापत्रमार्फत उठाइएका मुद्दाहरू जस्तः सदस्य सशक्तीकरण, वित्तीय पहुँच विस्तार, पारदर्शिता, उत्तरदायित्व तथा संस्थागत सुदृढीकरण—क्रमशः कार्यान्वयनको चरणमा अघि बढाइएका छन्। यसका साथै, हरेक वर्ष आयोजना हुने कार्यक्रममा नियामक निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहँदै आएको छ, जसले नीति निर्माण तथा सुधार प्रक्रियामा सकारात्मक प्रभाव पारेको छ। यस सहकार्यका कारण लघुवित्त क्षेत्रका समस्याहरू पहिचान गर्न, समाधानका उपायहरू खोज्न र व्यवहारमा उतार्न सहज भएको छ।
सम्मेलनमा उठाइएका विषयहरू, घोषणापत्रमा समेटिएका प्रतिबद्धताहरू तथा तिनको कार्यान्वयन अवस्थाबारे हामीले निरन्तर रूपमा समीक्षा र मूल्याङ्कन गर्दै आएका छौं। यस प्रक्रियाले कमजोरीहरू पहिचान गर्न, सुधारका लागि आवश्यक कदम चाल्न र आगामी सम्मेलनहरूलाई अझ प्रभावकारी बनाउने दिशामा मार्गनिर्देशन प्रदान गरेको छ।
पछिल्लो समय लघुवित्त र सहकारी संस्था असहज परिस्थितीमा छन्। एकातिर लगानी समयमै उठ्न सकेको छैन भने अर्कोतिर तरलता बढी छ। राष्ट्रिय सम्मेलनको लागि यो उपयुक्त समय हो?
चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । यस्तो अवस्थामा सम्मेलन झन् आवश्यक हुन्छ, किनभने यसले समस्या पहिचान गर्न, सरोकारवालाहरूबीच खुला छलफल गर्न र साझा समाधान खोज्न प्लेटफर्म प्रदान गर्छ।
सम्मेलनमार्फत सदस्यहरू, सहकारीकर्मी, लघुवित्त संस्थाका प्रतिनिधिहरू तथा नियामक निकायबीच समन्वय र सहकार्यलाई बलियो बनाउने उद्देश्य राखिएको छ। साथै, देखिएका समस्या समाधानका लागि व्यवहारिक उपायहरू, नीतिगत सुधारका सुझावहरू र आगामी कार्यदिशा तय गर्न सम्मेलन महत्वपूर्ण हुने विश्वास लिइएको छ।
हालको अवस्थामा पुरानो ढाँचाले लघुवित्त कार्यक्रम सञ्चालन गर्न सक्दैन। संस्थाहरूले नयाँ सेवा र प्रविधि अपनाउनु आवश्यक छ। विशेषगरी कृषिमा धेरै सम्भावना देखिएको छ र लघुवित्त कार्यक्रमले कृषिको आधुनिकीकरणतर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्नेछ। राष्ट्रिय सम्मेलनले यही सम्भावनाका बाटाहरू देखाउने काम गर्नेछ। त्यस्तै, बहुबैंकिङको समस्या पनि चुनौती हो। एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिएर सदुपयोग नगरेको अवस्था छ। संस्थामा तरलता पर्याप्त छ। सदस्यहरूले ऋण लिएर उत्पादनात्मक काम गर्न हिम्मत पाएका छैनन्। यस्तो अवस्थामा सदस्यहरूलाई मोटिभेट गर्न, उत्पादनशील काममा अघि बढाउन र “अब नेपालमै केही गर्न सकिन्छ” भन्ने वातावरण सिर्जना गर्नु आवश्यक छ।
सम्मेलनमार्फत सदस्यहरूलाई कृषि उत्पादनको बजार व्यवस्थापन, मूल्य निर्धारण र अन्य उत्पादनात्मक काममा सक्रिय बनाउने मार्गदर्शन दिइनेछ। नयाँ सरकारको गठनको समयमा यस्तो सकारात्मक वातावरण सिर्जना गर्नु अझ महत्वपूर्ण छ। यसरी, राष्ट्रिय सम्मेलनले सदस्यहरूमा उत्साह जगाउँदै लघुवित्त र सहकारी क्षेत्रको विकासलाई प्रोत्साहित गर्नेछ।

लघुवित्त कार्यक्रममा देखिएका समस्याहरू के–के छन्?
हाल बहुबैंकिङको समस्या छ, जहाँ धेरै संस्थाबाट ऋण लिएर नतिर्ने वा लिएको ऋणको सदुपयोग नगर्ने अवस्था देखिन्छ। यसको मुख्य कारण सदस्य उद्यमशील नहुनु हो। सदस्य उद्यमशील भए मात्र लगानी फिर्ता आउँछ र लगानी उत्पादनशील क्षेत्रमा जानु आवश्यक हुन्छ । यदि यस्तो नहुँदा, ऋणी र संस्था दुवै समस्यामा पर्छन् र सदस्यले घर छाडेर पैसा खोज्नुपर्ने अवस्था आउँछ।
यसलाई निवारण गर्न संस्थाले ऋण दिनु अघि सदस्यलाई उद्यम सम्बन्धी तालिम दिनु पर्छ। साथै, लगानीको सदुपयोग भइरहेको छ कि छैन भनेर निरिक्षण र अनुगमनको प्रक्रिया अपनाउनु जरूरी छ। केवल ब्याज उठाउने उद्देश्यले वा ऋण बाँडेर मात्र काम हुँदैन। सुरुमा ऋण दिने बेलामा लगानीको प्रयोजन, सदस्यसँग सम्बन्धित ज्ञान र सिपको अवस्था मूल्याङ्कन गर्नुपर्छ। यदि ज्ञान वा सिप छैन भने तालिम र क्षमता अभिवृद्धि गरेर मात्रै लगानी गराउनुपर्छ। यसरी गर्दा मात्र संस्थाको पैसा सुरक्षित रहन्छ र सदस्य समृद्धि तर्फ अघि बढ्छ।
Advertisment