एजेन्सी : इरान-अमेरिका-इजरायल युद्धका कारण विश्व ऊर्जा बजारमा आएको तीव्र उतारचढावले बेलायती ऊर्जा कम्पनी शेलको नाफामा उल्लेखनीय वृद्धि भएको छ।
कम्पनीले सन् २०२६ को अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिक अवधिमा ९.८४ अर्ब अमेरिकी डलर (करिब ७.३७ अर्ब पाउन्ड) नाफा कमाएको जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ४.२६ अर्ब डलरको तुलनामा दुई गुणाभन्दा बढी हो।
युद्ध सुरु भएपछि विश्वको प्रमुख तेल मार्ग मानिने स्ट्रेट अफ होर्मुज हुँदै हुने कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को आपूर्तिमा अवरोध सिर्जना भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढाएको छ।
युद्धअघि प्रति ब्यारेल करिब ७३ अमेरिकी डलर रहेको ब्रेन्ट कच्चा तेलको मूल्य १२० डलरभन्दा माथिसम्म पुगेको थियो। पछि होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने अनुमानसँगै मूल्य १०० डलरभन्दा तल झरे पनि बजारमा निरन्तर उतारचढाव कायम रह्यो।
ऊर्जा बजारमा देखिएको यही अस्थिरताले शेलको तेल व्यापार (व्यापारिक कारोबार) व्यवसायलाई ठूलो फाइदा पुगेको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत वाएल सवानले चुनौतीपूर्ण ऊर्जा बजारका बीच पनि कम्पनीको सञ्चालन क्षमता बलियो रहेकाले उत्कृष्ट वित्तीय नतिजा हासिल गर्न सफल भएको बताए।
यसअघि पहिलो त्रैमासिकमा कम्पनीले ६.९२ अर्ब डलर नाफा कमाएको थियो। दुवै त्रैमासिकको नाफा जोड्दा यस वर्षको पहिलो छ महिनामा शेलको आम्दानी करिब ७० प्रतिशतले वृद्धि भएको छ।
शेल मात्र होइन, बीपी र नर्वेको इक्विनोर जस्ता ठूला ऊर्जा कम्पनीहरूले पनि तेलको मूल्यमा आएको उतारचढावबाट उल्लेखनीय लाभ उठाएका छन्।
यद्यपि युद्धले शेलका केही सञ्चालनमा नकारात्मक असर पनि पारेको छ।
कतारस्थित कम्पनीको एलएनजी उत्पादन केन्द्र मार्चको सुरुदेखि नै बन्द रहेको छ भने मिसाइल आक्रमणमा परेर क्षतिग्रस्त भएको पर्ल ग्यास-टु-लिक्विड्स परियोजनाको मर्मत गर्न करिब एक वर्ष लाग्ने कम्पनीले जनाएको छ।
त्यसका कारण दोस्रो त्रैमासिकमा प्राकृतिक ग्यास उत्पादन पहिलो त्रैमासिकको ९०९ हजार ब्यारेल तेल बराबर प्रतिदिनबाट घटेर ६३१ हजार ब्यारेलमा झरेको छ। साथै, सन् २०२५ को पहिलो छ महिनाको तुलनामा कम्पनीको कुल तेल तथा ग्यास उत्पादन १६ प्रतिशतले घटेको भए पनि ब्राजिल र मेक्सिकोको खाडी क्षेत्रमा सुरु भएका नयाँ उत्पादनले केही राहत दिएको कम्पनीको भनाइ छ।
क्विल्टर चेभियट का ऊर्जा विश्लेषक माउरिजियो कारुलीले शेलको बलियो व्यापारिक रणनीति, प्रशोधन तथा रसायन व्यवसायको राम्रो प्रदर्शन र ब्राजिलमा बढेको उत्पादनका कारण कम्पनीले उत्कृष्ट नतिजा हासिल गरेको बताए। उनका अनुसार ऊर्जा क्षेत्र अत्यन्त अस्थिर भए पनि शेल अहिले पनि उद्योगको सबैभन्दा मजबुत कम्पनीमध्ये एक बनेको छ।
यता वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरूले भने कम्पनीको बढ्दो नाफाप्रति कडा आलोचना गरेका छन्। फ्रेन्ड्स अफ द अर्थ का ऊर्जा अभियानकर्ता ड्यानी ग्रोसले युरोपमा गर्मीको लहर र डढेलोले ठूलो क्षति पुर्याइरहेका बेला शेलले जीवाश्म इन्धनमा निर्भरता बढाउँदै अर्बौं डलर नाफा कमाउनु चिन्ताजनक भएको बताए।
उनका अनुसार ऊर्जा संकटका कारण सर्वसाधारणले महँगो विद्युत् र इन्धनको भार बेहोरिरहेकै समयमा यस्तो नाफाले तेल र ग्यासमा निर्भरता अन्त्य गरी स्वच्छ ऊर्जातर्फ तीव्र रूपमा अघि बढ्नुपर्ने आवश्यकता झन् स्पष्ट बनाएको छ।