काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पछिल्ला केही दिनयता सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा देखिएका अशान्ति, हिंसात्मक घटना तथा सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
महासंघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएकाले सामाजिक सद्भाव, आपसी सम्मान र सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ। कुनै पनि प्रकारका हिंसा, द्वेष वा सामाजिक विग्रहले नागरिकको दैनिक जीवन मात्र होइन, उद्योग, व्यापार, लगानी तथा समग्र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने महासंघको भनाइ छ।
विज्ञप्तिमा सामाजिक सद्भाव र शान्ति नै आर्थिक विकास तथा समृद्धिको आधार भएको उल्लेख गर्दै देखिएका मतभेद र असहमतिहरूको समाधान शान्तिपूर्ण संवाद, सहकार्य र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरिएको छ।
महासंघले प्रभावित क्षेत्रमा शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउन सरकार तथा स्थानीय प्रशासनसँग आग्रह गर्दै कुनै पनि प्रकारका अफवाह, उत्तेजना र हिंसात्मक गतिविधिबाट टाढा रहन सबै पक्षलाई अपिल गरेको छ।
त्यसैगरी, तराई क्षेत्रमा देखिएको तनावलाई तत्काल अन्त्य गरी दीगो शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय समुदायले सकारात्मक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा महासंघले जोड दिएको छ।