सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग हार्दिक अपिल गरेको छ।

परिसंघले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै यही पहिचानलाई जोगाइराख्न सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरेको छ।

परिसंघका अनुसार कुनै पनि असन्तुष्टि, विवाद वा समस्याको दीगो समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ। आन्दोलन, हिंसा वा मुठभेडले समस्या झन् जटिल बनाउने भएकाले सबै पक्षले धैर्यता र जिम्मेवारीका साथ शान्ति तथा सुव्यवस्था कायम गर्न सहयोग गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा हाल मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्नुपर्ने समयमा यस्ता घटनाले आर्थिक तथा सामाजिक वातावरणमा नकारात्मक असर पार्ने बताइएको छ। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटजस्ता घटनाप्रति परिसंघले गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।

यसैगरी, आम नागरिक र उद्योग–व्यवसायको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम गर्न नेपाल सरकार र सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्न परिसंघले आग्रह गरेको छ।

साथै, समाजमा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव सुदृढ बनाउन परिसंघका प्रदेश तथा जिल्ला संघहरू, निजी क्षेत्रका अन्य संघ–संस्था र सरोकारवालासँग सहकार्य गर्दै सद्भाव र्यालीलगायत शान्ति प्रवर्द्धन गर्ने गतिविधिमा सक्रिय सहभागिता जनाउन पनि आह्वान गरिएको छ।

थप समाचार