सरकारको लगानी साढे नौ खर्ब नाघ्यो, असार मसान्तसम्म ५६ अर्ब २० करोड आम्दानी

सरकारको लगानी साढे नौ खर्ब नाघ्यो, असार मसान्तसम्म ५६ अर्ब २० करोड आम्दानी

काठमाडौं : सरकारको लगानी साढे नौ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख ६४ हजार रुपैयाँ पुगेको हो ।

जसमध्ये शेयर लगानीतर्फ ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख रुपैयाँ लगानी भएको छ भने ऋण लगानीतर्फ ५ खर्ब ५५ अर्ब २५ करोड ३५ लाख रुपैयाँ लगानी रहेको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै सरकारले ३४ अर्ब ९२ करोड ७१ लाख ९६ हजार रुपैयाँ लगानी थप गरेको जनाएको छ । यस आर्थिक वर्षमा शेयर लगानीतर्फ ५ अर्ब ७३ करोड ९९ लाख ४६ हजार  रुपैयाँ लगानी थपेको सरकारले ऋणतर्फ २९ अर्ब १८ करोड ७२ लाख ४९ हजार रुपैयाँ प्रवाह गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा मात्रै यस्तो लगानी सरकारले १३ अर्ब ५८ करोड ७ लाख ९६ हजार रुपैयाँ गरेको छ । जसमध्ये शेयर लगानीबापत २ अर्ब ६२ करोड २० लाख १५ हजार रुपैयाँ लगानी गरेको सरकारले ऋणतर्फ १० अर्ब ९५ करोड ८७ लाख ८० हजार रुपैयाँ लगानी भएको कार्यालयले जनाएको छ ।

सरकारले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म लगानीबाट कुल ५६ अर्ब २० करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ, जुन प्रतिफलको ठूलो हिस्सा लाभांशबाट प्राप्त भएको पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यस्तो लाभांशबाट प्राप्त आम्दानी ५० अर्ब ९२ करोड ९५ लाख ४१ हजार रुपैयाँ बराबर रहेको छ ।

समीक्षा अवधिमा लगानीको साँवा फिर्तातर्फ २ अर्ब ८६ करोड ५२ लाख ६६ हजार रुपैयाँ प्राप्त गरेको सरकारले ऋण लगानीबाट २ अर्ब ४० करोड ७६ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

गत असार महिनामा सरकारले प्राप्त गरेको सबै आम्दानी ११ अर्ब २ करोड २९ लाख ९७ हजार ७१४ रुपैयाँ ७८ पैसा रहेको छ । जसमध्ये ७ अर्ब ४२ करोड ३२ लाख ७० हजार रुपैयाँ लाभांश बापत प्राप्त गरेको छ भने १ अर्ब ९९ करोड ५१ लाख ८२ हजार रुपैयाँ ब्याज तथा प्रतिबद्धता शुल्क र १ अर्ब ६० करोड ४५ लाख ४५ हजार रुपैयाँ साँवा फिर्ताबाट प्राप्त भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, सरकारी लगानी सार्वजनिक संस्थानहरूबाट सबै खाले आम्दानी तथा खर्चको विवरण प्राप्त भइनसकेको जनाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले संस्थानहरूबाट सोझै भुक्तानी तथा राजस्व दाखिला भौचर उपलब्ध भएपछि अन्तिम खर्च तथा प्राप्ति समायोजन गरिने जानकारी दिएको छ।

ताजा पोस्ट