स्वास्थ्य बीमा बोर्डद्वारा मंसिरसम्मको दाबी बक्यौता फर्छ्योट, बीमितलाई अनावश्यक परीक्षण नगर्न आग्रह

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिरसम्मको दाबी बक्यौता फर्छ्योट, बीमितलाई अनावश्यक परीक्षण नगर्न आग्रह

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले २०८२ मंसिर मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले पेश गरेका दाबीको बक्यौता पूर्ण रूपमा फर्छ्योट गरेको जनाएको छ। 

बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्षका विभिन्न चरणमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको र उक्त रकमसँगै मंसिर मसान्तसम्मका सबै दाबी भुक्तानी सम्पन्न भएको जानकारी दिएको हो।

बोर्डले सीमित स्रोतसाधन तथा वित्तीय चुनौतीका बाबजुद पनि स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको जनाएको छ। 

दैनिक हजारौं बीमित नागरिकले यस कार्यक्रममार्फत स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् भने उपचारका क्रममा आफ्नै गोजीबाट व्यहोर्नुपर्ने खर्च घटाउन र वित्तीय जोखिमबाट नागरिकलाई संरक्षण गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बोर्डको भनाइ छ।

यद्यपि, कार्यक्रमका लागि आवश्यक दिगो वित्तीय स्रोत तथा स्थायी वित्तीय संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा पछिल्लो समय सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानीमा ढिलाइ भएको बोर्डले स्वीकार गरेको छ।

भुक्तानीमा भएको ढिलाइका कारण स्वास्थ्य संस्था र बीमित सेवाग्राही दुवै पक्षमा असहज अवस्था सिर्जना भएको विषयप्रति आफू जानकार रहेको बोर्डले जनाएको छ।

हाल गरिएको भुक्तानीले २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फर्छ्योट गरेको भए पनि त्यसपछिका महिनामा पेश भएका दाबीको भुक्तानी भने अझै हुन बाँकी छ। ती दाबीहरू भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा कार्यक्रमको दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ।

यससँगै बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा प्रवाहमा कुनै अवरोध सिर्जना नगर्न आग्रह गरेको छ। बीमित नागरिकलाई कार्यक्रमले तोकेको मापदण्डअनुसार निरन्तर, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन बोर्डले सबै स्वास्थ्य संस्थासँग अनुरोध गरेको छ।

त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न बीमित नागरिकको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहने बोर्डले उल्लेख गरेको छ। 

बोर्डले बीमित सेवाग्राहीलाई चिकित्सकीय आवश्यकता नभएका स्वास्थ्य सेवा वा परीक्षणको अनावश्यक माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा सेवाको जिम्मेवारीपूर्वक र सदुपयोग गर्न आग्रह गरेको छ।

थप समाचार