Below Menu
Below Menu

सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल

सरकारको नीति कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको अभावः सांसद दुलाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण र समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट गन्तव्य नसमेटेको भन्दै बिडम्बना व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद दुलालले राजनीतिक र वैचारिक दिशानिर्देश स्पष्ट नभए नीति तथा कार्यक्रम अन्योलमा पर्ने टिप्पणी गरे ।

उनले भने, ‘बिडम्बना भन्नुपर्छ, सरकारको नीति कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने कुरा देखिएन। राजनीतिक वैचारिक गन्तव्य स्पष्ट छैन भने नीति कार्यक्रम अन्योलमा पर्छ । सरकारले आफ्नो राजनीतिक–आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्छ ।’

उनले नीति कार्यक्रममा उल्लेख गरिएको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यलाई पनि यथार्थपरक आधार नभएको भन्दै प्रश्न उठाए ।

दुलालले विगतका राम्रा नीति र कार्यक्रमहरूको निरन्तरता तथा केही नयाँ कार्यक्रमको घोषणा गरिएकोमा सरकारलाई धन्यवाद दिए। साथै उनले सरकारका कमजोरी मात्र खोज्ने दृष्टिकोणबाट आफू निर्देशित नभएको स्पष्ट पारे ।

उनले लोकतन्त्रलाई अभ्यासमार्फत सुदृढ गर्ने विषय नीति कार्यक्रममा समावेश नभएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा विद्यार्थी संगठन खारेज गर्ने जस्ता विषयप्रति पनि आपत्ति जनाए । त्यसैगरी, उनले नीति कार्यक्रममा कृषि क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

Advertisment

थप समाचार