काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् ।
बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइँदा स्वदेशी लगानीकर्ता डराएको टिप्पणी गरे । उनले भने, ‘मारवाडी समाज नामैले बदनाम भएको जस्तो बनाइएको छ । कहिले सम्पत्ति शुद्धीकरणको नाममा समात्ने, दुई दिनपछि छोड्ने, फेरि समात्ने भइरहेको छ । घर जलाउने, लुटपाट गर्ने जस्ता घटना पनि भए ।’
उनले अर्थमन्त्रीले स्वदेशी, विदेशी र प्रवासी पूँजी भित्र्याउने कुरा गरिरहे पनि स्वदेशी व्यवसायीलाई नै त्रसित बनाइएको आरोप लगाए ।
‘स्वदेशी पूँजी व्यवसायीहरूसँग छ, तर लगानी गर्न नपाउने, जेल हाल्ने अवस्था बनाइएको छ । धेरै व्यवसायी देश छोडेर गइसकेको सुनिन्छ । समस्या सहन नसकेर बाहिरिन बाध्य भएका छन्,’ भन्दै ठाकुरले चिन्ता व्यक्त गरे ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा मारवाडी समुदायको योगदान उल्लेख गर्दै उनीहरूलाई निरुत्साहित गरिए देशको आर्थिक विकासमा नकारात्मक असर पर्ने बताए ।
‘शिक्षा, स्वस्थ्यको क्षेत्रमा मारवाडी समाजको योगदान छ । उनीहरुलाई नै भगाउने हो भने र आफ्नो थोरै, धेरै जे छ स्वदेशी पूँजी लगानी गर्न त्यसै डराएको छ,’ उनले भने ।
Advertisment