काठमाडौं: सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गरेपछि वान्ता आएको गुनासोलाई सम्बोधन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित उद्योगमा तत्काल अनुगमन तथा निरीक्षण गरेको जनाएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका निवासी एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गरेपछि असहज महसुस भएको भन्दै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। उक्त गुनासो प्राप्त भएपछि विभागको र्यापिड रेस्पोन्स टोलीले सो पेय पदार्थ उत्पादन गर्ने वरुण बेभरेज(नेपाल) प्रालि, बालाजु औद्योगिक क्षेत्र स्थित उद्योगमा अनुगमन गरेको हो।
विभागका अनुसार उपभोक्ताले सेवन गरेको ब्याच नम्बरको माउन्टेन ड्यु २५० मिलिलिटर प्याकको सोही ब्याचका एक क्रेट उद्योगको गोदाममा फेला परेको छ भने बाँकी उत्पादन बजारमा वितरण भइसकेको पाइएको छ। प्रारम्भिक निरीक्षणका क्रममा उत्पादनमा प्रयोग भएका कच्चा पदार्थहरूको उपभोग्य मिति कायम रहेको विभागले जनाएको छ।
अनुगमनपछि विभागले सम्बन्धित उद्योगलाई उक्त ब्याच उत्पादनमा प्रयोग भएका कच्चा पदार्थको विस्तृत विवरण तथा खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र पेश गर्न निर्देशन दिएको छ। साथै, सोही ब्याचको नमुना सङ्कलन गरी प्रयोगशालामा विश्लेषणका लागि पठाइएको छ।
प्रयोगशालाको प्रतिवेदन नआउँदासम्म उक्त ब्याचको माउन्टेन ड्यु बिक्री–वितरण नगर्न सम्बन्धित व्यवसायी तथा डिलरलाई निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट गर्दै परीक्षण प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही गरिने जनाएको छ।
Advertisment