जनकपुर : आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ ।
राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मचारीलाई स्थायी रोजगार दिएको थियो भने अप्रत्यक्ष रुपमा तीन हजार भन्दा बढीले रोजगारी पाएका थिए ।
२०४६ सालमा देशमा प्रजातन्त्र स्थापन भयो । त्यसको करीब दुई वर्षपछि सुरु भयो राजनीतिक नियुक्तिको दौड । सरकारका प्रतिनिधिहरुले आफ्नो निकटका व्यक्तिहरुलाई कारखानाको मुख्य पदमा नियुक्ति दिने प्रवृतिको सुरुवात हुन थाल्यो । एक समयमा देशैभरिमा सबैभन्दा बढि आम्दनी गर्ने जनकपुर चुरोट कारखाना राजनीतिक नियुक्तिको होडबाजीका कारण घाटामा जान थाल्यो ।
कारखानामा काम गर्ने पूर्वकर्मचारीहरुका अनुसार धनुषाकै ख्याती प्राप्त नेताहरुको राजनीतिक स्वार्थ र आसेपासेको नियुक्तिका कारण जचुकाली बन्द नै गर्नुपर्ने अवस्थामा पुग्यो ।
जनकपुर चुरोट कारखानाको जनकपुरमा मात्र ३३ विघा ६ कठ्ठा जग्गा रहेको छ भने अन्य २२ ठाउँमा पनि जग्गा रहेको छ । जनकपुरधाममा रहेको कारखाना परिसरमा चुरोट बनाउने मात्र नभएर प्रिन्टिङ प्रेस –छापा खाना, वर्क सप, पावर हाउस–विजुली उत्पादन गर्ने प्लान्ट) रहेको छ । रसियाबाट ल्याइएको मेसिनहरु आजको दिनसम्ममा कुनै खासै क्षति भएको देखिदैन ।
कारखानाका ७२ वर्षिय रिटायर कर्मचारी सेठ साहुका अनुसार प्राविधिक टोली र विज्ञहरुले प्रयास गरे चुरोटकारखाना मात्र नभई, छापा र वर्कसप पनि सुचारु गर्न मिल्ने अवस्थामा रहेको छ । उनका अनुसार बन्द हुने समयमा कुनैपनि मेसिन बिग्रिएको थिएन, सबै चालु अवस्थामा रहेको थियो ।
कतिपय मेसिनहरु ६ महिना पनि प्रयोग भएका थिएनन, देश बाहिरबाट विशेष ब्राण्डका अर्डर बनाउनका निम्ति मगाइएको थियो । ती मेसिनहरु जस्ताको त्यस्तै अवस्थामा रहेका छन् । सर्भिसिङ र इलेक्ट्रिोनिक पार्टस्हरु ममर्त गरेभने थोरै लगानीमा कारखाना फेरि सुचारु गर्न सक्ने उनले जानकारी दिए ।
कारखाना परिसरमै रहेको प्रिन्टिङ मेसिनमा पत्रपत्रिकादेखि लिएर कागजमा प्रिन्ट हुने हरेक थोक र आकारका प्रिन्टिङका कार्यहरु गर्न मिल्ने मेसिन रहेको छ । उक्त मेसिन सर्भिसिङ मात्र गर्ने हो भने कम जनशक्तिमा तत्कालै प्रयोगमा ल्याउन सक्ने देखिन्छ ।
त्यस्तै, कारखाना परिसरमै रहेको वर्कसपमा फलामसँग सम्बन्धित कार्यहरु गर्न मिल्ने लेथका मेसिनहरु प्रयोगविहीन अवस्थामा रहेका छन् । सेठ साहुका अनुसार यो वर्कसपमा मोटरसाइकल र गाडिको इन्जिनका पार्टसहरु पनि बनाउन सकिने सामानहरु उपलब्ध छ । बजारमा नपाउने फलाम र लेथका औजारहरु भरिपूर्ण रहेको छ । सरकारले ध्यान दिए यस वर्कसपबाट तत्कालै उत्पादन कार्य सुरु गर्न सकिने सेठ साहुको भनाइ छ ।
त्यस्तै, कारखाना परिसरमै रहेको पावर हाउसमा विद्युत उत्पादन गर्ने मेसिन –ईन्जन, ड्यानमो, पावर ग्रीड, कन्ट्रोलर०हरु यथा स्थितीमा रहेका छन् । यी मेसिनहरु अर्बौ रुपैयाँका रहेका छन् । खेर जानुभन्दा प्राविधिक र सम्बन्धित विज्ञबाट चेक जाँच गराएर प्रयोगमा ल्याउनसके बिजुली उत्पादन गर्न सकिने पूर्व कर्मचारी सेठ साहुको भनाई छ ।
प्रयोगविहीन अवस्थामै रह्ने हो भने यस कारखानाका मेसिनहरु एक समयपछि कबाडमा परिणत हुने निश्चय रहेको बताउँछन कारखानाका सुरक्षा ईन्चार्ज तुला खड्का ।
उनका अनुसार नीजि साझेदारीमै लगेर भएपनि यो कारखाना सुचारु भएमा सयौँले रोजगारी पाउनुका साथै राज्यको आम्दानी र राजस्व बढ्नेमा कुनै संका छैन ।
हाल सुरक्षाका निम्ति कारखानामा सात जना कर्मचारी छन्। जेनजी आन्दोलनमा सुरक्षा गार्ड बस्ने भवन र अन्य प्रवेशद्वारमा रहेको भवनमा क्षती पुगेपनि मेसिनहरुमा भने कुनै क्षती पुगेको छैन । ससाना मेसिनका पार्टसहरु चोरी भएपनि मुख्य मेसिनहरु अहिलेपनि यथास्थितीमा पुनः सुचारु हुने पर्खाइमा रहेको छ ।
अहिले बनेको रास्वपा नेतृत्वको सरकारले देशमै रोजगारी सृजना गर्ने प्रतिवद्धता जाहेर गरेको छ । धनुषावासीहरु जनकपुर चुरोट कारखाना पनि पुनः सुचारु हुने आशामा छन् ।
Advertisment