Below Menu
Below Menu

एनआईबिएल सहभागिता फण्डका इकाईहरू अब हितग्राही खातामा जम्मा

एनआईबिएल सहभागिता फण्डका इकाईहरू अब हितग्राही खातामा जम्मा

काठमाडौं : एनआइएमबि एस क्यापिटल लिमिटेड ले व्यवस्थापन गर्दै आएको “एनआईबिएल सहभागिता फण्ड” अन्तर्गतका लगानीकर्ताका इकाईहरू अन्ततः हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ। यस सम्बन्धमा कम्पनीले एक सूचना जारी गर्दै सम्पूर्ण लगानीकर्तालाई आफ्नो मेरो सेयर खातामार्फत इकाईहरू क्रेडिट भएको पुष्टि गर्न आग्रह गरेको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड विगत १३ वर्षदेखि नेपालको अग्रणी मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ सेवाप्रदायकका रूपमा सक्रिय रहँदै आएको छ। कम्पनीले म्युचुअल फण्ड, पोर्टफोलियो व्यवस्थापन, परामर्श सेवा, डिपोजिटरी सहभागी सेवा लगायतका विभिन्न सेवा प्रदान गर्दै पूँजी बजारमा सशक्त उपस्थिति कायम राखेको छ।

उक्त कम्पनीद्वारा सञ्चालनमा रहेको “एनआईबिएल सहभागिता फण्ड” नेपालकै पहिलो खुलामुखी म्युचुअल फण्डका रूपमा चिनिन्छ। नेपाल धितोपत्र बोर्ड बाट सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत दर्ता भएको यस योजनाले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट तथा ट्रेजरी बिल जस्ता विभिन्न उपकरणमा लगानी गर्दै आएको छ।

२०७६ असार २४ गतेबाट सञ्चालनमा आएको यो खुलामुखी योजना स्टक एक्सचेन्जमा सूचीकृत नभए पनि योजना व्यवस्थापकमार्फत प्रत्यक्ष खरिद–बिक्री गर्न सकिन्छ। प्रारम्भिक चरणमा ६ अर्ब रुपैयाँ (६० करोड इकाई) आकारको रहेको यस योजनालाई हालै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुर्याइएको छ। यससँगै यो फण्ड नेपालकै सबैभन्दा ठूलो म्युचुअल फण्डको रूपमा स्थापित भएको कम्पनीको दाबी छ।

यसअघि बीज पूँजीसम्बन्धी व्यवस्थाका कारण लामो समयसम्म इकाई वृद्धि हुन नसक्दा लगानीकर्ताका इकाईहरू हितग्राही खातामा जम्मा हुन सकेका थिएनन्। तर, २०८२ चैत ५ गतेदेखि लागू हुने गरी योजनाको आकार विस्तारको स्वीकृति प्राप्त भएसँगै सो समस्या समाधान भएको हो।

कम्पनीले ढिलाइका लागि लगानीकर्तासँग क्षमायाचना गर्दै उनीहरूको धैर्यता र निरन्तर समर्थनप्रति आभार व्यक्त गरेको छ। साथै, अब सबै लगानीकर्ताले आफ्नो मेरो सेयर खातामा लगानी गरिएको इकाई सफलतापूर्वक क्रेडिट भएको पुष्टि गर्न सक्ने पनि जनाएको छ।

Advertisment

थप समाचार