काठमाडौं : होटल फरेष्ट इन लिमिटेडेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) फागुन ४ गते सोमबार बाँडफाँट भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो। उक्त निष्काशनमा सर्वसाधारणबाट उल्लेखनीय चासो देखिएको थियो।
आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख ७१ हजार ३१५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट गरिएको हो। सोही प्रक्रियाअनुसार ३ लाख ३२ हजार आवेदकले जनही १० कित्ताका दरले शेयर पाएका छन्।
यससँगै कम्पनीको आईपीओ बाँडफाँट प्रक्रिया सम्पन्न भएको छ भने बाँकी आवेदकले आवेदन गरेको रकम फिर्ता पाउनेछन्।
Advertisment