Below Menu
Below Menu

यी हुन् कार्यसम्पादन मुल्याङ्कनमा कर्णालीका उत्कृष्ठ दश स्थानीय तह, चौरजहारी नगरपालिका कर्णालीमै पहिलो

यी हुन् कार्यसम्पादन मुल्याङ्कनमा कर्णालीका उत्कृष्ठ दश स्थानीय तह, चौरजहारी नगरपालिका कर्णालीमै पहिलो

सुर्खेत : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका कर्णाली प्रदेशकै पहिलो बनेको छ । कर्णालीका ७९ स्थानीय सरकार मध्ये उत्कृष्ट अंकसहित चोरजहारी पहिलो बनेको हो ।

Sponsored Advertisement

आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन मूल्याङ्कनमा चौरजहारीले कुल अंकमा ८२ दशमलव १५ प्रतिशत अंक प्राप्त गरेको हो ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे÷नगरेकोदेखि समयमा बजेट पास भए/नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकको आधारमा वित्त आयोगले स्थानीयतहको मूल्याङ्ककन गरेको थियो ।

वित्त आयोगको प्रतिवेदनले आगामी दिन अझै प्रभावकारी रुपमा काम गर्ने उर्जा मिलेको चौरजहारी नगरपालिकाले जनाएको छ ।

जाजरकोटको भेरी नगरपालिकाले ७६ दशमलव ९६ अंक प्राप्त गरेर दोस्रो, रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिकाले ७४ दशमलव ९० अंक प्राप्त गरी तेस्रो भएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले ७३ दशमलव ९२ प्रतिशत अंक ल्याएर चौथो र डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाले ७३ दशमलव ५ अंक ल्याएर पाचौ स्थानमा रहेका छन् ।

त्यस्तै सल्यानको छत्रेश्वरी गाउँपालिका ७२ दशमलव २५ अंकसहित प्रदेशभर छैठौ, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका ७१ दशमलव ८६ अंकसहित सातौ, हुम्लाको खार्पुनाथ गाउँपालिका ७१ दशमलव ६९ अंक ल्याएर आठौं स्थान, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६८ दशमलव ९१ अंकसहित नवौ र रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ६७ दशमलव २२ अंकसहित दशौ स्थानमा पर्न सफल भएको छ ।

सबैभन्दा पुछारमा रहेको दैलेखको भैरवी गाउँपालिकाले ३९ दशमलव ७९ अंक ल्याएको छ भने पुछारबाट दोस्रो नम्बरमा रहेको कालिकोटको शान्नित्रिवेणी गाउँपालिकाले ४१.६९ प्रतिशत अंक ल्याएको छ ।

आयोगको मूल्याङ्कन आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिश गर्दा लिइने आधारमध्ये एक हो । धेरै अङ्क ल्याउने सरकारले बढी अनुदान पाउने गर्छन् । आयोगले स्थानीय तहमा १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।

थप समाचार