Below Menu

ऊर्जामा कोशीको ‘विद्युतीय’ फड्को: एक वर्षमै १३४ मेगावाट थप क्षमता, औद्योगिक कर्जा १५ प्रतिशत वृद्धि 

ऊर्जामा कोशीको ‘विद्युतीय’ फड्को: एक वर्षमै १३४ मेगावाट थप क्षमता, औद्योगिक कर्जा १५ प्रतिशत वृद्धि 

काठमाडौं : नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार प्रदेशको विद्युत उत्पादन क्षमतामा उल्लेख्य वृद्धि भएको देखिएको छ ।

Sponsored Advertisement

कृषिमा भने केही चुनौतिहरु देखिएका छन् । प्रतिवेदन अनुसार, यस वर्ष प्रदेशको आर्थिक वृद्धि (उपभोक्ता मूल्यमा) ३.३४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ, जुन गत आर्थिक वर्षको संशोधित अनुमान ३.३१ प्रतिशतभन्दा सामान्य बढी हो ।

जलविद्युत क्षेत्रमा फड्को 

कोशी प्रदेश जलविद्युत उत्पादनमा अग्रणी देखिएको छ । प्रदेशमा सञ्चालित विद्युत आयोजनाहरूको कुल उत्पादन क्षमता ७८७.७५ मेगावाट रहेको छ । प्रतिवेदन अनुसार गत आवको असार मसान्तसम्ममा ५९ वटा जलविद्युत आयोजनाहरुको कुल उत्पादन क्षमता ७७०.९५ मेगावाट पुगेको उल्लेख छ । 

गत आवमा प्रदेशमा निर्माण सम्पन्न भएका १० वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता १३४.२० मेगावाट रहेको छ ।

प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरूको सबैभन्दा बढी २५७.४३ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ । 

प्रदेशका जिल्लाहरूमध्ये इलाममा १७ वटा, संखुवासभामा १० वटा, सोलुखुम्बुमा ८ वटा, पाँचथर र ताप्लेजुङमा ७ वटा, पाँचथरमा ५ वटा, ओखलढुङ्गामा, खोटाङ र भोजपुरमा ३/३ वटा तेह्रथुममा १ वटा जलविद्युत आयोजना रहेका छन् भने झापा र मोरङमा १/१ वटा सोलार विद्युत आयोजना रहेका छन्। 

प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको विराटचोक–घिनाघाट सडक आयोजनाको आव २०८१/८२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा गत असार मसान्तसम्म प्याकेज १ को भौतिक तथा वित्तीय प्रगति क्रमशः ९८.० प्रतिशत र ८९.० प्रतिशत रहेको तथा प्याकेज–२ र प्याकेज–३ अन्तर्गतको सडक खण्डको निर्माण सम्पन्न भएको छ ।

प्रदेशका विभिन्न जिल्लाहरूमा आर्थिक वर्ष २०८१/८२ असार मसान्तसम्ममा निर्माण सम्पन्न ५९ वटा जलविद्युत आयोजनाहरूको उत्पादन क्षमता ७७०.९५ मेगावाट रहेको छ । त्यसैगरी मोरङ जिल्लामा ग्रिड कनेक्टेड सोलार आयोजनाबाट ६.८ मेगावाट र झापा जिल्लामा झापा इनर्जी लिमिटेडबाट १० मेगावाट क्षमताको सोलार आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ । 

ठुला आयोजनाहरुको प्रगति 

१. अरुण तेस्रो जलविद्युत परियोजना

अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत अरुण तेस्रो जलविद्युत आयोजना र अरुण तेस्रो जलविद्युत आयोजना (प्रसारणलाइन निर्माण) गरी दुई वटा आयोजनाहरु रहेका छन्। दुवै आयोजनाको कुल अनुमानित लागत एक खर्ब ४५ अर्ब रहेको छ । 

अरुण तेस्रो जलविद्युत आयोजना: ९०० मे.वा. कुल विद्युत उत्पादन क्षमता रहेको यस आयोजनाको निर्माण कार्य २०७५ वैशाखबाट प्रारम्भ भई २०८४ पुस सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

गत असार मसान्तसम्म यस आयोजनाको भौतिक तथा वित्तीय प्रगति क्रमशः ७१ प्रतिशत र ६९ प्रतिशत रहेको छ । यस आयोजनामा स्वदेशी १ हजार ७ सय ८९ जना र विदेशी १ हजार ३०४ जना गरी कुल ३ हजार ९३ जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। 

अरुण तेस्रो जलविद्युत आयोजना ४०० केभी प्रसारणलाइन निर्माण: चार सय केभी क्षमता २१७ किलोमिटर लम्बाई भएको यस आयोजनाको निर्माण कार्य २०७६ माघबाट प्रारम्भ भइ २०८४ पुसमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, महोत्तरी जिल्ला अन्तर्गत पर्ने यस आयोजनाको २०८२ असार मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ५४ प्रतिशत र ४६ प्रतिशत रहेको छ । यस आयोजनाबाट स्वदेशी ३२३ र विदेशी २३४ गरी कुल ५५७ जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 

२. कोशी कोरिडोर २२० केभी प्रसारण लाइन तथा सवस्टेशन निर्माण 

कोशी कोरिडोर २२० के. भी. प्रसारण लाइन तथा सवस्टेसन निर्माण अन्तर्गत ईनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजना, तुम्लिङटार–बानेश्वर–वसन्तपुर–इनरुवा २२० के.भी. सवस्टेशन, वसन्तपुर– ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइन र सव–स्टेशन र वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइन दोस्रो सर्किट र बसन्तपुर सव–स्टेशनमा बे एक्सटेन्सन गरी चार वटा आयोजनाहरू रहेका छन्।

कोशी कोरिडोर अन्तर्गत सन् २०१६ जुनबाट निर्माण कार्य प्रारम्भ भएको १०६ कि.मी लम्बाइ भएको ईनरुवा-बसन्तपुर-बानेश्वर-तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भई मिति २०७९ साउन १९ बाट सञ्चालनमा आइसकेको छ । यस आयोजनाको कुल लागत ३ करोड ७३ लाख अमेरिकी डलर रहेको छ ।

तुम्लिङटार-बानेश्वर-वसन्तपुर-इनरुवा गरी ४ वटा सव स्टेशनको निर्माण कार्य सन् २०१८ अक्टोवरबाट प्रारम्भ भएकोमा सन् २०२३ डिसेम्बर ३१ मा निर्माण कार्य सम्पन्न भएको हो । यस आयोजनाको कुल लागत २ करोड ६ लाख अमेरिकी डलर रहेको थियो । 

कोशी कोरिडोर अन्तर्गत ३५ कि.मि. लम्बाई रहेको वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइन र सव–स्टेशनको निर्माण कार्य सन्२०१८ जुनबाट प्रारम्भ भएको हो । कुल लागत २ करोड १० लाख अमेरिकी डलर रहेको यस आयोजनाको निर्माण सम्पन्न सन्२०२४ जुलाई ३ मा भएको हो । 

कोशी कोरिडोर अन्तर्गत ३५ कि.मि. लम्बाइ रहेको वसन्तपुर–ताप्लेजुङ (ढुंगेसाँघु) २२० के.भी. प्रसारण लाइनको दोस्रो सर्किट र बसन्तपुर सव–स्टेशनमा वे एक्सटेन्सन निर्माण कार्य सन् २०२२ नोभेम्बरबाट प्रारम्भ भएकोमा सन्२०२५ अगष्ट २४ मा निर्माण कार्य सम्पन्न भएको हो । यस आयोजनाको कुल लागत ६६ करोड नेपाली रुपैयाँ रहेको थियो ।

कुशाहा-विराटनगर कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजना

यस आयोजनाको निर्माण कार्य आव २०७४/०७५ बाट प्रारम्भ भई आव २०८२/०८३ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । कुल २३ कि.मी लम्बाइ रहेको यस आयोजनाको अनुमानित कुल लागत रु.१ अर्ब ९२ करोड २८ लाख ५० हजार रहेको छ । यस आयोजनाको वि.सं. २०८२ असार मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति क्रमशः ७२.९६ प्रतिशत र ७१.७४ प्रतिशत रहेको छ ।

कृषिमा क्षेत्रफल घट्दा, उत्पादनमा वृद्धि  

प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.८० प्रतिशतले घटेको छ । 

जौं, फापर, कोदो, दलहन, गहुँ, स्याउ, अन्य फलफुल, मकै, तेलहन, भटमास, सुन्तला, अदुवा र अन्य मसला लगायत बालीले ढाकेको क्षेत्रफल घटेको पाइएको छ । यद्यपी समग्र कृषि बालीको उत्पादन भने २.१४ प्रतिशतले वृघि भएको छ ।

खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७.४६ प्रतिशत, तरकारी बालीको ५.२५ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७.२९ प्रतिशत रहेको छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८१.४२ प्रतिशत रहेको छ ।

खाद्य बाली अन्तर्गत धान २.१६ प्रतिशत, मकै ९.२४ प्रतिशत तथा उखु ४.२४ प्रतिशतले उत्पादन बढेकाले समग्र उत्पादनमा वृद्धि भएको देखिएको हो ।  

त्यस्तै तरकारीको उत्पादन १.२१ प्रतिशत, फलफुलको उत्पादन १.७३ प्रतिशत, कफीको उत्पादन १५.४९ प्रतिशत तथा महको उत्पादन ८.४७ प्रतिशतले बढेको छ भने चियाको उत्पादन ०.९३ प्रतिशत र मसलाको उत्पादन ०.१० प्रतिशतले घटेको छ । 

त्यस्तै कुल खेतीयोग्य क्षेत्रफलको ३७.०३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३७.५५ प्रतिशत रहेको थियो । गत वर्ष प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.५६ प्रतिशतले विस्तार भएको छ ।

यसैगरी दुध उत्पादन १२.४७ प्रतिशत, मासु उत्पादन २.०३ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन ३.९१ प्रतिशत, माछा उत्पादन १२.४९ प्रतिशत तथा उनको उत्पादन १०.५० प्रतिशतले बढेको छ । 

काठको उत्पादन २.६ प्रतिशतले बढेको छ गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा ६.०२ प्रतिशतले घटेर रु.५६ अर्ब ३० करोड पुगेको छ ।

उद्योग र सेवा क्षेत्रको स्थिति 

प्रतिवेदनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५०.८० प्रतिशत रहेको छ । उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५२.५९ प्रतिशत रहेको थियो । 

टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.७० प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.४ प्रतिशत रहेको छ ।

उद्योगहरूको उत्पादनमध्ये भटमासको तेलको उत्पादन सबैभन्दा बढी १४४९ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामानको उत्पादन सबैभन्दा बढी ७४.३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्ले छ ।

प्रदेशका ४३ वटा उद्योगहरूमा कार्यरत श्रमिकको संख्या गत वर्षको तुलानामा २.२१ प्रतिशतले बढेर १७,३३२ जना पुगेको छ । 

औद्योगिक कर्जा १५.०३ प्रतिशतले बढेर रु.१ खर्ब ६० अर्ब कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा उक्त कर्जा ८.११ प्रतिशतले बढेको थियो । 

नमुना छनोटमा परेका होटलहरूको औसत अकुपेन्सी दर ४२.५३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.१४ प्रतिशतले बढेको छ । आन्तरिक पर्यटकको संख्या पनि १०.२७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रदेशमा समग्र जहाज उडान संख्या ०.६ प्रतिशतले कमी आएको छ । 

प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल शाखा संख्या १,८५१ पुगेका छन्। कुल निक्षेप परिचालन १५.७२ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५३ अर्ब पुगेको छ भने प्रवाहित कर्जा ५.९५ प्रतिशतले वृद्धि भई रु.६ खर्ब १३ अर्ब पुगेको छ।

असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७६३, विकास बैंकका १९६, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५६ गरी जम्मा १,८५१ शाखा पुगेका छन्। 

गत असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सहकारी संस्थाको पुँजी ३.७ प्रतिशतले वृद्धि भएको थियो । 
प्रदेशमा कुल ५१ हजार १ सय ३४ सवारी साधन दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा ३४.१३ प्रतिशतले बढी हो ।

गत असार मसान्तमा कोशी प्रदेशमा सरकारी/सामुदायिक विद्यालय, संस्थागत÷निजी र प्राविधिक शिक्षालयको संख्या कुल ७ हजार ५२ रहेको छ । 


 

Sponsored Advertisment

थप समाचार